डा अनिल कार्की
कोरोनाको त्रास र महामारी दिनप्रति दिन बढ्दो छ। कोरोना संक्रमितलाई निको बनाउन स्वास्थ्यकर्मीहरु दिनरात नभनी उपचारमा खटिरहेका छन्। तर हाम्रो देशमा त्यही स्वास्थ्यकर्मीहरुको मनोबल बढाउनुको साटो उल्टै घटाउने काम भइरहेका छन्।
यस्तो विषम परिस्थितिमा पनि देशका विभिन्न स्थानमा चिकित्सक तथा स्वास्थ्य संस्था माथि आक्रमण अनि तोडफोडका घटना भइरहेका छन्। वीरगञ्जस्थित नारायणी अस्पतालमा केही दिनअघि स्वास्थ्यकर्मी माथि विभिन्न लाञ्छना लगाउने तथा आक्रमण गर्ने काम भए।
‘डाक्टर चोर देश छोड’ सम्मका नारा लगाए। यदी अहिलेको अवस्थामा डाक्टरहरुले देश छोड्ने हो भने के हुन्छ ? कोरोना निको हुन्छ ?
मलाई लाग्छ, कोरोना महामारी नियन्त्रणमा तीन तहका सरकार असफल भएको देखिन्छ। स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गरेर क्वारेन्टाइनको जुन व्यवस्थापन गर्नुपर्ने हो। त्यो भएको देखिँदैन।
वीरगञ्जकै कुरा गर्ने हो भने महानगरपालिकामा सरकारी अस्पताल एउटा मात्र छ। तर त्यो अस्पतालको विकल्पमा स्थानीय सरकारले केही गरेको देखिदैन।
बरु केही निजी अस्पतालले कोरोना विशेष अस्पताल बनाए। तर न त प्रदेश सरकार कुनै विकल्प दिन सक्यो न स्थानीय सरकारले कुनै व्यवस्था गर्न सक्यो। अहिले नारायणी अस्पतालले कोरोनाको बिरामीहरु मात्र हेरिरहँदा अन्य अस्पतालमा कुनै व्यवस्था हुन सकेन।
सरकारले कुनै तयारी नगर्ने अनि डाक्टर तथा चिकित्सक विरुद्ध नाराबाजी लगाएर मात्र हुँदैन। कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीहरु नै अहिले सुरक्षित छैनन्। दैनिकजसो नै स्वास्थ्यकर्मीहरु संक्रमित भएका खबरहरु बाहिर आउने गरेका छन्।
उपचारको क्रममा स्वास्थ्यकर्मीहरु संक्रमित भए कहाँ उपचार गर्ने र कसरी गर्ने भन्ने विषयमा सरकारको केही कार्यक्रम देखिदैन। राज्यहरुले उनीहरुको उपचारको ग्यारेन्टी न लिन सकेको छ न चाहेको छ।
अहिले विभिन्न स्वास्थ्य संस्थामा दक्ष जनशक्तिको अभाव छ। यो समस्या नारायणी अस्पतालको पनि हो। यो समयमा नेपाल मेडिकल काउन्सिलले एमबीबीएस पास गरेका २/३ सय डाक्टरहरु मेकिडल अभ्यासका लागि तयार होलान्। तर उनीहरुलाई लाइसेन्स परीक्षाको नाममा अनिर्णयको बन्दी बनाएर राखिएको छ।
स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा राज्यले लिनुपर्छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था माथि आक्रमण गर्नेलाई बिना धरौटी जेल चलानको कानून ल्याउनुपर्छ।
उपचारमा खटिने स्वास्थ्यकर्मीको लागि पनि कुनै विशेष सेवा सुविधाको व्यवस्था हुन सकेको छैन। स्वास्थ्यकर्मीलाई भत्ता दिने भनिएपनि सबै स्वास्थ्यकर्मीले पाउन सकेका छैनन्। दिनरात नभनी उपचार खटिने चिकित्सकहरु नै धमाधम संक्रमित हुन थालेका छन्। तर राज्यलाई यसको कुनै मतलब छैन।
सरकारले निश्चित योजना बनाएर नीजि अस्पतालहरुसँग सहकार्य गर्नु आवश्यक छ। नीजिले गरेन भनेर गाली गरेर मात्र हुँदैन। राज्यले विज्ञहरुको कुरा पनि सुन्नुपर्ने थियो तर सुनेको छैन। एकलौटी तरिकाले अघि बढीरहेको छ।
चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल बढाउनुपर्नेमा राज्य, राजीतिक वित्त र जनताले थर्काउने अनि धम्काउने काम मात्र भइरहेको छ। हामीले पटक÷पटक सुरक्षाको प्रत्याभूति गराउन आग्रह गर्दै आएका छौं। तर हाम्रो यो आवाजलाई राज्यले सुन्न सकेको छैन।
कोरोनाको जोखिम र संक्रमितको संख्या दैनिक बढ्दो छ। स्वास्थ्यकर्मीहरु पनि संक्रमितहरु हुने क्रम बढ्दै गएको छ। यस्तो विषम परिस्थितिमा चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल बढाउन नसके कोरोना नियन्त्रण गर्न सकिदैन।
(नेपाल चिकित्सक संघका उपाध्यक्ष डा अनिल कार्कीसँग स्वास्थ्यखबरकी कमला गुरुङले गरेको कुराकानीमा आधारित)