काठमाडौं- पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। पर्सा सुगौलीका ४७ वर्षीय ती पुरुषको मृत्युपछि कोरोना पुष्टि भएको हो। योसँगै मृतकको संख्या १ सय ४ पुगेको छ।
उनको शनिबार बिहान ७ बजे अस्पताल ल्याउँदा मृत्यु भइसकेको नारायणी अस्पताल वीरगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले बताए। मृत्युपछि गरिएको नमुना परीक्षणमा शनिबार राति कोरोना पुष्टि भएको उनले जानकारी दिए।
उनका अनुसार ती व्यक्तिमा एक हप्तादेखि ज्वरो, खोकी तथा श्वासप्रश्वासको समस्या थियो। उनी अस्पताल नगई घरमै औषधि खाएर बसिरहेका थिए।
यस्तै, बारा र पर्सामा थप ४७ जना कोरोना संक्रमित भेटिएका छन्। नारायणी अस्पताल प्रयोगशाला वीरगञ्जमा गरिएको परीक्षणमा बाराका १ र पर्साका ४६ गरी ४७ जनामा कोरोना देखिएको हो।
४७ संक्रमितमध्ये १० जना महिला रहेको मेसु डा उपाध्यायले जानकारी दिए। संक्रमण भेटिनेमा ८ देखि ७० वर्ष उमेर समूहका छन्। नारायणी बयोधा अस्पतालका ५ जना सहयोगी तथा सफाइ कर्मचारी, हाउस किपिङ, पोखरिया नगरपालिकाका ४ जना लगायत छन्।