काठमाडौं - बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा शनिबार ५ जना नर्समा कोरोना पुष्टि भएको छ। यो सँगै यस अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या १० पुगेको छ।
स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि अस्पतालको सेवा प्रभावित भएको छ। त्यहाँ हाल अत्यावश्यक बाहेक अन्य सबै सेवाहरु बन्द रहेको अस्पतालले जनाएको छ।
शनिबार एक सूचना जारी गर्दै अस्पताललाई निर्मलीकरण गर्नुपर्ने भएकाले अत्यावश्यक बाहेक अन्य सेवाहरु बन्द गरिएको जनाएको छ। अर्को सूचना जारी नभएसम्मका लागि अस्पतालको ओपिडी सेवाहरु बन्द रहने सूचनामा उल्लेख गरिएको छ।
१० जना संक्रमितमध्ये ७ जना नर्स र ३ जना कार्यालय सहयोगी रहेको अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले बताए। अस्पताललाई निर्मलीकरण र स्वास्थ्यकर्मीको स्क्रिनिङ गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको उनले बताए।
प्रशासनको व्यवस्थापकीय कमजोरीका कारण स्वास्थ्यकर्मीलाई कोरोना भएको अस्पतालका एक कर्मचारी बताउँछन्। अस्पतालले आवश्यक सतर्कता र सावधानी नअनाएको उनको भनाई छ।