डडेल्धुरा- देशमा कोरोना संक्रमणको जोखिम बढेसँगै पहाडी जिल्लाका स्वास्थ्यकर्मीहरुले हिलो पहिरो र बाढीको जोखिम मोल्दै आएका छन्।
ग्रामीण क्षेत्रका कच्ची हिलाम्मे सडकमा एक्लै खालि हात हिड्न त हम्मेहम्मे हुन्छ भने फोर आइस प्याक क्यारियर बक्सभित्र कोरोना परीक्षणका लागि संकलन गरिएको स्वाबलाई घाँटीमा झुन्ड्याएर हिँड्नुपर्ने स्वास्थ्यकर्मीको रहर होइन, बाध्यता रहेको छ।
केही दिनअघि नवदुर्गा गाउँपालिकाको चामा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी प्रेम साउद हिलाम्मे सडकमा जोखिममोलेर ४७ जनाको कोरोना परीक्षणका लागि संकलन गरिएको स्वाब बोकेर सदरमुकाम आएका छन्।
संकलन गरिएको स्वाब राख्नका लागि गाउँपालिकामा आइस प्याक अथवा डिप फ्रिज नभएको र सबै स्थानमा स्वाब राख्न नसकिने हुँदा जोखिम मोलेरै भए पनि डडेल्धुरा अस्पताल पु¥याउनुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मी प्रेम साउदले बताए।
एक जना ल्याब असिस्टेन्टको भरमा नवदुर्गा गाउँपालिकाका ५ वटै वडामा स्वास्थ्यकर्मी साउदले स्वाब संकलन गर्दै आएका छन्। आइतबार मात्रै उनले वडा नं ४ मा १९ जनाको स्वाब संकलन गरेका छन्। गाउँपालिका सबै वडामा स्वास्थ्यकर्मी भए पनि नवदुर्गा गाउँपालिकाको स्थानीय व्यक्ति भएकोले स्वाब संकलनका लागि उनी सबै वडामा पुग्ने गरेका छन्। उनले भने, ‘जागिर खाएको पनि ७/८ वर्ष भयो, नवदुर्गा गाउँपालिकाकै स्थानीय भएकोले सबै वडामा स्वाब संकलनका लागि सहयोग गरिरहेको छु।’
साउद कार्यरत नवदुर्गा गाउँपालिका वडा नम्बर ५ मा रहेको चामा स्वास्थ्य चौकीमा रहे पनि उनले केही दिनअघि हिलोमा जोखिम मोलेर बोक्दै गरेको स्वाब भने मणिलेक स्वास्थ्य चौकीमा संकलन गरिएको थियो। वर्षातको समयमा सडकहरु जम्मै हिलाम्मे अवस्थामा रहेका छन्, सबै ठाउँमा एम्बुलेन्स जान सक्ने अवस्था छैन। त्यसकारणले पनि संकलन गरिएको स्वाबलाई जसरी पनि डडेल्धुरा अस्पताल पुर्याउनुपर्ने हुन्छ। वर्षातको पानी निरन्तर परिरहेको छ बाटाघाटाहरु हिलाम्मे भएका छन्। जस्तोसुकै अवस्था भए पनि संकलन गरिएको स्वाब डडेल्धुरा अस्पताल पुर्याउनु उनको बाध्यता हो।
उनी भन्छन्, ‘कयौं स्थानहरुमा मोटरसाइकल पनि हिलोमा फस्दा अन्य व्यक्तिसँग सहयोग मागेर हिलोबाट पार गराउनुपर्ने हुन्छ। यो सबै गाउँपालिका भित्र कोरोना संक्रमण फैलिन नदिनका लागि गरिरहेको छु।’