काठमाडौं - कोरोनाको उपचारमा प्रयोग हुने रेमडिसिभिर औषधि आयातका लागि नेपालका तीन वटा आयातकर्ताले अनुमति पाएका छन्।
यति फर्मा केयर, भियोभिस लाइभ साइन्सेस र सिनर्जी ओभर्सिसले रेमडिसिभिर औषधि आयातका लागि अनुमति पाएका हुन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषदको प्रोटोकल अनुसार क्लिनिकल ट्रायलका लागि औषधि व्यवस्था विभागले रेमडिसिभिर आयातका लागि अनुमति दिएको थियो।
सिप्ला, माइलन र हेटेरो कम्पनीबाट उत्पादन भएका रेमडिसिभिर औषधि मात्र आयात गर्न सकिने विभागका महानिर्देशक नारायण ढकालले बताए। उनका अनुसार यति फर्मा केयरले सिप्ला, भियोभिस लाइभ साइन्सेसले हेटेरो र सिनर्जी ओभर्सिसले माइलन कम्पनीका औषधि आयात गर्न अनुमति पाएका हुन्।
आइसियुमा अक्सिजनको कमी भएका कोरोनाका संक्रमितको उपचारका लागि यो औषधिको प्रयोग हुन्छ। रेमडिसिभिर ढिलोमा बिहिबार सम्म आयात गरिसक्ने नेपाल औषधि आयातकर्ता संघले जनाएको छ।
रेमडिसिभिरको प्रयोगले कोरोनाका बिरामीलाई हुने सक्ने जोखिमबाट बचाउँछ। हाल यो औषधि अमेरिका, बंगलादेश, युरोप र भारतमा प्रयोग हुँदै आएको छ।