काठमाडौं - थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालका ४० जना स्वास्थ्यकर्मीको पिसिआर परीक्षणका लागि नमूना संकलन गरिएको छ।
गत शुक्रबार एनेस्थेसिया विभागमा कार्यरत एक रेसिडेन्ट चिकित्सक (चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान) मा कोरोना भेटिएसँगै उनको सम्पर्कमा आएकाहरुको पिसिआर परीक्षणका लागि नमूना संकलन गरिएको अस्पतालले जनाएको छ।
संक्रमित आवासिय चिकित्सकको प्राइमरी सम्पर्कमा रहेका २० जना स्वास्थ्यकर्मीको रिपोर्ट भने आइसकेको छ। उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका उपनिर्देशक डा श्रीप्रसाद अधिकारीले बताए। बाँकी २० जनाको नमुना भने सोमबार मात्र संकलन गरिएकाले रिपोर्ट आउन बाँकी छ।
हाल कुनै पनि स्वास्थ्यकर्मी होम क्वारेन्टाइनमा नरहेको उनले जानकारी दिए।
आवश्यक सतर्कता र पिपिई लगाएर काम गरेकाले रिपोर्ट आउन बाँकी रहेका २० जना स्वास्थ्यकर्मीहरु सेवामा खटिरहेको उनले बताए।
उनका अनुसार हाल अस्पतालको सबै सेवा सुचारु छ। संक्रमितको चिकित्सकको सेकेण्डरी सम्पर्कमा आएका अन्य कर्मचारीलाई भने निगरानीमा राखिएको उनले बताए।
गत शुक्रबार कोरोना पुष्टि भएका चिकित्सक हाल वीर अस्पतालको आइसोलेसनमा छन्। हाल आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन्। उनका अनुसार बुधबारदेखि उनलाई ज्वरो आउने, शरीर दुख्ने लक्षण देखिएको थियो।
बिहीबार पिसिआर परीक्षण गरेका उनमा शुक्रबार कोरोना पुष्टि भएको हो। दैनिक ३०÷४० जना बिरामीको सम्पर्कमा आउनु पर्ने भएकाले उनीहरुबाटै कोरोना सरेको हुन सक्ने उनको भनाई छ।
उनले भने, ‘दैनिक ३०÷४० जना बिरामीलाई हेर्नुपथ्र्यो। कोरोना कसरी सर्यो भन्ने थाहा छैन। तर बिराीमबाटै सरेको हो की भन्ने आशंका मात्र छ।’