काठमाडौं– गण्डकी प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरा नगरपालिकामा रहेको कास्की सेवा अस्पतालमा एक र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको हो।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँ जिल्ला निवासी ५० वर्षीय महिलाको सोमबार राति ११ः३५ मा आइसियुमा उपचारको क्रममा मृत्यु भएको हो। उनको कास्की सेवा अस्पतालमा उपचार भइरहेको थियो। अस्पतालका निर्देशक डा पदमबहादुर खड्काका अनुसार संक्रमित महिलामा हेपाटाइटिस, निमोनिया, सुगर, प्रेसर, मुटुको समस्या थियो।
गण्डकी प्रदेशकी जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीका अनुसार सोमबार उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।
त्यस्तै स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी विभागमा कास्की जिल्ला पोखराका ८७ वर्षीय पुरुषको मंगलबार बिहान १०ः४० बजे मृत्यु भएको छ। उनी साउन २२ गते ज्वरो तथा श्वासप्रश्वासको समस्या लिएर अस्पतालमा भर्ना भएका थिए। उनी हाइपरटेन्सन, सुगर र दीर्घ मिर्गौला रोगी थिए। उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ।
यी दुईसहित गण्डकी प्रदेशमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालभरमा भने ११३ संक्रमितको मृत्यु भएको छ।

