काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालको चालकलाई कोरोना संक्रमण देखिएको छ। चालकलाई कोरोना पोजिटिभ देखिएपछि सचिव अर्याल होम क्वारेन्टाइनमा बसेका छन्।
मन्त्रालयमा हालसम्म ५ जनामा कोरोना संक्रमण देखिएको छ। सचिव अर्यालका चालकसहित थप अर्का एक जना चालक र अन्य तीन जना कार्यालय सहयोगीलाई कोरोना संक्रमण देखिएको हो।
होम क्वारेन्टाइनमा रहेका सचिव अर्याल पिसिआर परीक्षण गराउने तयारीमा रहेको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।
'उहाँको ड्राइभरलाई कोरोना देखिएपछि २/३ दिनदेखि मन्त्रालय आउनु भएको छैन,' मन्त्रालयका एक कर्मचारीले भने 'अब पिसिआर परीक्षणपछिको नतिजा हेरेर मात्र मन्त्रालयमा आउनुहुन्छ।'
मन्त्रालय परसिरमा नै रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका एक चालकलाई पनि कोरोना पोजिटिभ देखिएको छ। यसका साथै स्वास्थ्य सेवा विभागका २ कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।