काठमाडौं- सरकारले काठमाडौं उपत्यकामा १७ बुँदे निषेधाज्ञा जारी गरेको छ। बुधबार राती १२ बजेदेखि भदौ १० गते राती १२ बजेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय सरकारले गरेको हो। उपत्यकाका तीनै जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
निषेधाज्ञा जारी भएपछि अत्यावश्यक सेवाका बाहेक कार्यालय संचालन गर्न पाइँदैन। तोकिएको समयमा मात्र सवारी साधन चलाउन पाइने भएको छ। खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा भने संचालनमा रहनेछन्।
सोमबार मात्रै बसेको मन्त्रिपरिषद् बैठकले जिल्लामा निषेधाज्ञा जारी गर्ने र कर्फ्यू लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीहरूलाई दिएको थियो। यो निर्णय मंगलबार सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका थिए।
पछिल्लो समय कोरोना संक्रमण दर बढेको र सुरक्षा सावधानी पर्याप्त मात्रामा नअपनाइएको भन्दै सरकारले कडाइ गर्दै लगेको छ। मंगलबार मात्र काठमाडौं उपत्यकामा २ सय ५ जना संक्रमित भेटिएका थिए भने देशभर १ हजार १६ जना कोरोना संक्रमित पुष्टि भएका थिए।
स्वास्थ्य मन्त्रालयले जारी गरेका मापदण्ड र सरकारका निर्देशन पालना नगर्नेलाई कारबाही गर्न समेत सबै प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयलाई निर्देश दिइसकेको छ।
यस्तो छ १७ बुँदे निषेधाज्ञा
विश्वव्यापी महामारीको रूप लिएको कोभिड-१९ को संक्रमण काठमाडौं उपत्यका भित्र निरन्तर बढिरहेको छ । यस जिल्लामा सोको रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन जरुरी देखिएकोले संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम हाल मिति २०७७।०५।०३ गते राती १२:००बजेदेखि २०७७।०५।१० गते राती १२:०० बजे सम्म काठमाडौ उपत्यकाभर लागू हुने गरी देहाय बमोजिमका गतिविधिहरू गर्न/गराउन निषेध गर्ने ।
१. औषधि, खाधवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा वाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन ।
२. अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न ।
३. अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक काठमाडौं उपत्यका भित्र सवारी साधन प्रवेश गर्न ।
४. जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न ।
५. कोभिड-१९ को संक्रमणको जोखिम नियन्त्रण, सो को रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनु पर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जानपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा विहान ९:०० बजेदेखि १०:३० बजे र बेलुकी ३:०० बजे देखि ५:३० बजेसम्म आवागमन गर्ने समय बाहेकको समयमा सवारी सञ्चालन गर्न ।
६. सवारी साधन सञ्चालनको लागि पूर्व अनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यकीय वस्तु वा सेवा अन्तरगत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाईन, आइशोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रूपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन जस्ता अति आवश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन गर्न ।
७. कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न ।
८. परम्परागत रूपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरू सञ्चालन तथा जमघट गर्न ।
९. शैक्षिक संस्थाहरू, प्रशिक्षण केन्द्रहरू, टियूशन सेन्टर, भाषा कक्षा लगाएतका जमघट हुने गतिविधिहरु सञ्चालन गर्न ।
१०. सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, व्यूटीपार्लर, स्पा, स्वीमिङ्गपुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न ।
११. फूटपाथ वा खुल्ला ठाउँमा र ठेलागाडा वा साईकलमा सञ्चालन हुने विभिन्न व्यवसाय सञ्चालन तथा कवाडी संकलन गर्न ।
१२. होटेल, रेष्टुरा सञ्चालन गर्न ।
१३. बैकिङ्ग सेवा लगायत विभिन्न निकायहरूले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाई सो सम्भव नभएमा न्यूनतम कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गराउने गरी आवश्यक सेवा प्रबाह गर्नुपर्ने छ ।
१४. अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग तथा न्यूनतम भौतिक दूरी कायम गर्नु पर्नेछ ।
१५. हवाई उडानबाट विदेश जानेहरूको हकमा पासपोर्ट, भिषा, कन्फर्म हवाई टिकट हुनेहरू सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गर्न सकिनेछ ।
१६. अत्यावश्यक उपभोग्यवस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सृजना गर्ने, मुल्यवृद्धि गर्ने जम्माखोरी वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरू उपर कानूनबमोजिम कारबाही हुनेछ ।
१७. यस आदेशको उलंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानूनबमोजिम कारबाही हुनेछ ।