काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ उपचारका लागि वेड नछुट्याउने निजि अस्पताल तथा मेडिकल कलेजलाई पिसिआर गर्ने दिएको अनुमति खारेज गर्ने चेतावनी दिएको छ।
मन्त्रालयले सबै निजी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेजलगायत सबै स्वास्थ्य संस्थालाई कोभिडका लागि २० प्रतिशत बेड छुट्याएर बिरामीको उपचार गर्न पत्र पठाएको थियो।
मन्त्रालयको सो निर्णयपछि कोभिड र अन्य बिरामीको एकै अस्पतालमा उपचार गर्न नहुने, त्यसले संक्रमण झन् फैलाउन सक्ने भन्दै आलोचना भइरहेको छ। तर मन्त्रालयले फेरि यस्तो निर्णय गरेको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबार नियमित कोरोना बिफ्रिङमा कोभिडका लागि बेड नछुट्याउने अस्पताल तथा मेडिकल कलेजले पिसिआर पनि गर्न नपाउने निणर्य भएको जानकारी दिए।
उनले भने,‘मन्त्रालयको इन्सिडेन्ड कमाण्ड सिस्टमले मंगलबार जुन मेडिकल कलेज, प्रतिष्ठान, अस्पतालमा २० प्रतिशत वेड छुट्याउदैन त्यस्तो अस्पताललाई पिसिआर जाँच गर्न दिएको अनुमति खारेज गर्ने निणर्य गरेको छ। यो विषयमा कसैलाई द्धिविधिा भए प्रवक्ताको नम्बरमा फोन गरी प्रष्ट हुनुहोला।’
उनले अस्पतालमा आएका कोभिडका बिरामीको सोही अस्पतालमा नै उपचार गर्नुपर्ने र अन्यत्र रिफर गनुपर्ने भएमा हब अस्पतालसँग समन्वय गरी सार्न सकिने बताए।