काठमाडौं- ललितपुरमा बुधबार एकै दिन ५७ कोरोना संक्रमित थपिएका छन्। बुधबार राती ९ बजेसम्मको तथ्यांक अनुसार ललितपुरमा बुधबार एकै दिन २९ महिला र २८ पुरुष गरी ५७ जनामा कोरोना पोजिटिभ देखिएको हो।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बुधबार जिल्लामा सबैभन्दा बढी ललितपुर महानगरपालिकामा ३५ जनामा कोरोना देखिएको हो। महानगरका १७ महिला र १८ पुरुषमा बुधबार कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
यस्तै बुधबार नै महालक्ष्मी नगरपालिकाका १० महिला र ८ पुरुष गरी १८ जना, गोदावरी नगरपालिकाका २ महिला र २ पुरुष गरी ४ जनामा कोरोना देखिएको छ।
यसअघि स्वास्थ्य मन्त्रालयले दिउसो सवा ४ बजे ललितपुरमा १७ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएको थियो। बुधबार राती ९ बजेसम्म उक्त संख्या बढेर ५७ पुगेको हो।
ललितपुरमा हालसम्म ३८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये २२८ पुरुष र १५८ महिला छन्।