काठमाडौं - महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत दुई चिकित्सकमा प्लाज्मा थेरापीपछि स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ।
त्रिवि शिक्षण अस्पतालको आइसियुमा उपचाररत ती दुई चिकित्सकको स्वास्थ्य अवस्था बिग्रदै गएपछि गत शनिबार प्लाज्मा थेरापी गरिएको थियो। प्लाज्मा थेरापीपछि उनीहरुको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको अस्पतालका कोभिड १९ व्यवस्थापन समितिका संयोजक डा सन्त कुमार दासले बताए।
डा दासका अनुसार उनीहरु वीर अस्पताल र नोवेल शिक्षण अस्पतालका दुई चिकित्सक हुन्। एक जना चिकित्सकलाई आइसियुबाट आइसोलेसन वार्डमा सारिएको छ। अर्का चिकित्सकलाई केही दिनभित्रै आइसियुबाट निकाल्ने तयारी भएको डा दासले बताए।
यसअघि पहिलो पटक विराट मेडिकल कलेजका संचालक डा ज्ञानेन्द्रमान सिंह कार्कीलाई प्लाज्मा थेरापी गरिएको थियो।
हाल त्रिवि शिक्षण अस्पतालमा ३३ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भई उपचाररत छन्। १६ जना स्वास्थ्यकर्मी होम आइसोलेसनमा रहेको डा दासले जानकारी दिए। उनका अनुसार हालसम्म त्रिवि शिक्षण अस्पतालका कुन पनि स्वास्थ्यकर्मी आइसियुमा छैनन्।