काठमाडौं- नेपाल चिकित्सक संघले कोभिड- १९ बाट संक्रमित भएका बिरामीहरुका लागि छुट्टै कोभिड डेडिकेटेड अस्पताल र अन्य बिरामीहरुका लागि ननकोभिड अस्पतालमा वर्गिकरण गरी उपचारको व्यवस्था गर्न सरकारसँग अनुरोध गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेजलाई १ तिहाई र अन्य अस्पतालहरूलाई कम्तीमा २० प्रतिशत बेड छुट्याउने गरी गरको निर्णय अविलम्ब सच्याउन पनि माग गरेको छ।
संघका महासचिव डा बद्री रिजालले प्रेस विज्ञप्ति जारी गर्दै संघले हालको अवस्था आउनुभन्दा पहिलादेखि नै कोभिड डेडिकेटेड अस्पताल र अन्य बिरामीहरुका लागि ननकोभिड अस्पतालमा वर्गीकरण गरी उपचारको माग गर्दै आएको पनि ध्यानाकर्षण गराएका छन्।
संघद्वारा जारी विज्ञप्तिमा कोभिड-१९ को उच्च संक्रमणलाई न्यूनीकरण गरिसकेका कैयौँ देशहरूको अनुभवलाई समेत ध्यानमा राख्दै नेपालमा अझै पनि संक्रमित भई सकेकाहरुलाई छुट्टै स्वास्थ्य संस्थालाई कोभिड-१९ अस्पतालको रुपमा परिणत गरेर अलग्गै उपचार गर्न सकिए संक्रमणलाई न्यून गर्न सकिने उल्लेख गरिएको छ।
‘मन्त्रालयले हालै गरेको निर्णयका कारण देशभरका स्वास्थ्य संस्थाहरू संक्रमणको केन्द्र बन्न पुग्ने तथा प्रत्येक स्वास्थ्य संस्थाहरूमा कोभिड र ननकोभिडका बिरामीहरूको उपचार सँगै गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको जनशक्ति, आवश्यक सुरक्षाका सामग्रीहरुको समेत बढी खपत हुने र राज्यलाई थप आर्थिक भार समेत पर्न जाने’ संघको विज्ञप्तिमा उल्लेख छ।
कोभिडभन्दा ननकोभिड अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु नै धेरै संक्रमित भएको देखिएकोले स्वास्थ्य संस्थामा उपचारमा संलग्न हुने सक्षम जनशक्तिकै अभाव भई भयावह स्थिति सिर्जना हुने चेतावनी संघले दिएको छ।