काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित गर्भवतीले बच्चा जन्माएकी छिन्।
विराटनगरकी २० वर्षीया गर्भवतीले सोमबार बच्चा जन्माएकी हुन्। प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार आमा र बच्ची दुवैको स्वास्थ्य सामान्य रहेको छ।
उनका अनुसार ती गर्वतीमा भदौ ३ गते कोरोना पोजिटिभ देखिएको थियो।
सुत्केरीका लागि उनलाई आइतबार प्रतिष्ठानमा भर्ना गरिएको थियो। उनले सोमबार २ दशमलव ८ केजीको छोरीलाई जन्म दिएकी हुन्।
डा सुर्यप्रसाद रिमालको निगरानीमा डा मुशेक झा, डा हिमाल गिरी र नर्स सिरिन अधिकारीले प्रसूति गराएका हुन्।
उनीहरुले करिब ३ घन्टा पिपिई लगातका सुरक्षाका उपाय अपनाउँदै प्रसूति गराएका हुन्।
सो क्रममा पिपिईले डाक्टर तथा नर्सको शरीर पसिनाले भिज्नुका साथै आँखामा लगाइएको सुरक्षा चस्मा बाफका कारण धमिलो भएको थियो।