काठमाडौं- कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएसँगै संक्रमित नै सम्पर्कविहीन हुने क्रम पनि बढ्दै गएको छ। काठमाडौं उपत्यकामा दैनिक १ सयदेखि दुई सयसम्म कोरोना संक्रमित भेटिँदा संक्रमित नै सम्पर्कविहीन बढ्ने क्रम पनि बढेको देखिएको छ। काठमाडौं महानगरमा मात्र आइतबारसम्म २७ जना कोरोना संक्रमित सम्पर्कविहीन रहेको महानगरले जानकारी दिएको छ।
काठमाडौ महानगरपालिका भित्र मात्र २७ जना संक्रमित सम्पर्कमा छैनन्। यसरी सम्पर्कविहीन हुनेहरुमा गलत नम्बर टिपाएका, नाकामा स्वाब दिएर आएका र फोन नम्बर दिएर पनि मोबाइल अफ गरेर बसेका व्यक्ति भएको महानगरले जनाएको छ।
सम्पर्कविहीन हुनेमा अधिकांश प्रभावित जिल्लाबाट आएका र अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरु रहेको बताइएको छ। केही सम्पर्कविहीनमध्ये अधिकांश कवाडी संकलनको काम गर्नेहरू भएको महानगरको भनाइ छ। उनीहरू संक्रमित भएपनि सम्पर्कमा नरहेका कारण कवाडी संकलनका लागि घरघर पुग्न सक्ने भएकाले जोखिम बढेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार यस्ता बेपत्ताको संख्या करिब ४० रहेको छ। साउनको अन्तिम हप्ता यस्तै एक व्यक्ति सार्वजनिक यातायात चढेर टेकु पुगेपछि मन्त्रालयसम्म रिपोर्टिङ पुगेको थियो। सम्पर्कविहीन व्यक्ति खोजी गर्न प्रहरीको सहयोग लिने निर्णय गरिएको थियो।
काठमाडौं महानगरका कोभिड फोकल पर्सन ज्ञानबहादुर ओलीले सम्पर्कविहीन संक्रमितको खोजी भइरहेको बताएका छन्। वडाको सम्पर्कमा नआएका, नम्बर गलत टिपाएकाहरु सम्पर्कविहीन भएका उनले बताए। वडा मार्फत सङ्क्रमितको खोजी भइरहेको ओलीले जानकारी दिए।
लकडाउनअघि न्यून मात्रमा रहेको संक्रमण लकडाउन खुलेसँगै बढेको काठमाडौ महानगरका फोकल पर्सन ओलीको भनाइ छ। ‘साउन ५ गते सरकारले लकडाउन खोल्ने निर्णय गरेपछि नै अधिकांश वडामा संक्रमित थपिएका हुन्,’ ओलीले भने, ‘अहिले महानगरका ३२ वटै वडामा पुगेको छ यो अझै बढ्छ्।’ वडाध्यक्षहरुले पनि लकडाउन खुलेसगै मानिसहरु राजधानी भित्रदा स्वास्थ्य सावधानी अपनाउन नसक्दा फैलिएको बताए।
महानगरको आफ्नै आइसोलेसन छैन। महानगरको आफ्नै आइसोलेसन नहुँदा सङ्क्रमीतहरु घर बस्नै बाध्य छन्। काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डगोंलले महानगरले आफैले आइसोलेसन बनाउन नपाएकाले सङ्क्रमितलाई होम आइसोलेसनमा राख्नुबाहेक विकल्प नभएको बताए। ‘महानगरको आफ्नै आइसोलेसन छैन,’ डगोंलले भने, ‘लक्षण नदेखिएका अवस्था सामान्य भएका सङ्क्रमितलाई होम आइसोलेसनमा राखिएको हो।’
सङ्क्रमितलाई होम आइसोलेसनमा राख्दा छिमेकीले अमानवीय व्यवहार गरेको आफूहरुलाई खबर आएको वडा नम्बर १४ की वडा अध्यक्ष शोभा सापकोटाले बताइन्। ‘एक जना कोरोना सङ्क्रमितलाई छिमेकीले छिछिर दुर्दुर गर्नुभएछ,’ सापकोटाले भनिन्, ‘मैले फोनै गरेर सचेत गराएँ। सामाजिक सञ्जालबाट पनि सचेत गराएकी छु। अहिले कम भएको छ।'
कामनपा वडा नम्बर ७ का वडा अध्यक्ष शुद्ध डगोंल समाज निर्दयी हुँदै गएको बताउँछन्। ‘हाम्रो समाज निर्दयाी रहेछ कोही सङ्क्रमित देख्यो भने माया हैन त्यो टोललाई नै छिछिर दुरदुर गरेको पाइयो,’ डगोंलले भने, ‘समाज निर्दयी भएको छ कसरी सचेत गराउने सोचिरहेको छु।’ डगोंलका अनुसार कटुबहालमा लकडाउन खुलेपछि बाहिरबाट आएकाहरु बस्ने घरमा ५/६ सय स्थानीयले घर घेर्न पुगेका थिए।
संक्रमण बढ्ने अनुमान, निषेधाज्ञा लम्ब्याउने सुझाव
काठमाडौं उपत्यकाका मेयरहरुले कोरोना भाइरसको संक्रमण थप फैलन सक्ने भन्दै भदौ १५ सम्म निषेधाज्ञा कायमै गर्न सरकारलाई सुझाव दिएका छन्। उपत्यकामा १५ हजार संक्रमित हुन सक्ने अनुमान गर्दै उनीहरूले यस्तो सुझाव संघीय सरकारलाई दिएका हुन्।
यस्तै गृहमन्त्री रामबहादुर थापा, गृहसचिव महेश्वर न्यौपानेसहितको उपस्थितिमा गृह मन्त्रालयमा आयोजित सुरक्षा ब्रिफ्रिङ बैठकमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख चक्रबहादुर बुढा, गृहमन्त्रीका सल्लाहकारद्वय सूर्य सुवेदी र इन्द्रजित राईले काठमाडौं उपत्यकाभर कोरोनाको संक्रमण दर बढेको र स्थिति भयावह उन्मुख रहेको विश्लेषण गरेका छन्।
काठमाडौका तीन वटै जिल्लामा निषेधाज्ञा जारी छ। यो अवधिमा उपत्यकामा दैनिक एकसय देखि २२६ सम्म संक्रमित फेला परिरहेका छन्। निषेधाज्ञा जारी गरेपछि संक्रमितको संख्या कम हुने अनुमान गरिएपनि त्यो हुन सकेको छैन।
उपत्यकाको सबैभन्दा धेरै संक्रमित काठमाडौ महानगरभित्र रहेका छन्। ३२ वडामा कोरोना सङ्क्रमितको संख्या (भदौ ६ गतेसम्म) १ हजार ६ सय २० पुगेको छ। जसमा ३ सय ६९ जना होम आइसोलेसनमा छन् भने हालसम्म कोरोना निको हुनेमा २ सय ३१ जना रहेको काठमाडौं महानगरपालिका शहरी स्वास्थ्य महाशाखा कोभिड-१९ फोकल पर्सन ज्ञानबहादुर ओलीले बताए। उनका अनुसार मृत्यु हुनेका सङ्ख्या ९ जना छ।