काठमाडौं - स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरमा कोरोना संक्रमित चिकित्सकले नै कोरोना संक्रमितको उपचार सुरु गरेका छन्।
सीमित जनशक्ति भएका कारण संक्रमित चिकित्सकले नै अन्य कोरोना संक्रमितलाई उपचार दिएको सेन्टरले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संक्रमितसँग गरिएको छलफलमा दुवैले स्वीकृति जनाएपछि संक्रमित चिकित्सकले सेवा दिन सुरु गरिएको सेन्टरका मेडिकल निर्देशक डा राजु ढकालले बताए।
उनले भने, ‘हामीसँग सीमित जनशक्ति छन्। भएका स्वास्थ्यकर्मी पनि संक्रमित भएपछि कसरी सेवा दिन सकिन्छ भनेर छलफल गरेका थियौं। जसमा स्वास्थ्य मन्त्रालय र बिरामी दुवैले स्वीकृति दिनु भएको छ।’
कोरोना संक्रमित चिकित्सकले सेवा दिन थालेको चार दिन भएको छ। लक्षण नदेखिएका र स्वस्थ्य चिकित्सकले मात्र लक्षण नदेखिएकै संक्रमितको उपचार गरिरहेको केन्द्रले जनाएको छ। अन्य बिरामीलाई भने कोरोना नभएका स्वास्थ्यकर्मीले नै सेवा दिने ढकालले जानकारी दिए।
‘हामीले पूर्ण सावधानी अपनाएका छौं’ निर्देशक ढकालले भने, ‘लक्षण नदेखिएका स्वास्थ्यकर्मीले लक्षण नदेखिएका संक्रमितको उपचार गर्ने हो। अन्य बिरामीलाई संक्रमित नभएका स्वास्थ्यकर्मीले नै उपचार दिनुहुन्छ। यसले दुवैलाई सहज भएको अनुभव गरेका छौं।'
यस केन्द्रमा १ चिकित्सक, ५ नर्स गरी ९ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । ५१ शय्या रहेको केन्द्रमा १ सय ३ जना कर्मचारी कार्यरत छन् । हाल केन्द्रको उपचार तथा अन्य व्यवस्थापन डा जसबहादुर गुरुङको नेतृत्वमा भइरहेको छ।