काठमाडौं - अत्याधुनिक खोप भण्डारण स्टोर (कोल्ड चेन)को भवन निर्माण सुरु भएको छ।
टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा ८५ हजार लिटर क्षमता भएको केन्द्रीय खोप भण्डार स्टोर निर्माण हुन लागेको हो। मन्त्रालयले चालु आर्थिक वर्षका लागि रु २ करोड बजेट विनियोजन गरेको थियो। दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको सो भवनको निर्माणमा करिब रु १५ करोड लागत लाग्ने अनुमान गरिएको छ ।
१० करोड रुपैयाँ भन्दा बढी लागत भएको निर्माण कार्यको निर्णय मन्त्रालय स्तरबाट हुनुपर्ने व्यवस्था भएकोले व्यवस्थापन महाशाखाले उक्त फाइल गत जेठमा मन्त्रालयमा पठाएको थियो। तर, लामो समय फाइल मन्त्रालयमै अड्काएपछि भवन बन्ने नबन्नेबारे अन्योलता उत्पन्न भएको थियो।
अत्याधुनिक भवन निर्माणका लागि २०६२/६३ देखि नै बजेट विनियोजन भएपनि यसमा धेरैको चासो थिएन। जसकारण हरेक वर्ष बजेट फ्रिज हुँदै आएको थियो।
खोपलाई निश्चित तापक्रममा भण्डार गर्ने ठाउँलाई कोल्ड चेन भनिन्छ। टेकुस्थित विभाग परिसरमा रहेको केन्द्रीय कोल्ड चेनको क्षमता कम भएपछि अत्याधुनिक र बढी क्षमता भएको भवन बनाउने गृहकार्य सुरु भएको थियो।
रोगको प्रकोप र त्यस्ता रोगको विरुद्धमा तयार भएका खोप पनि थप्दै जानुपर्ने अवस्था छ।
राष्ट्रिय खोप कार्यक्रम अनुसार १२ प्रकार खोप सञ्चालनमा छन्। भने चालु आर्थिक वर्षबाटै रोटा भाइरस विरुद्धको खोप पनि सञ्चालनमा ल्याइएपनि खोपको संख्या १२ पुगेको हो।
नेपालमा हाल बिसिजि (क्षयरोग), डिपिटी-हेपाइटिस बि-हिव, ओपिभी (पोलियो), दादुरा-रुवेला, जापानिज इन्सेफेलाइटिस, आईपिभी(पोलियो), पिसीभी (निमोनिया), रोटा र टिडी (टिटानस र डिप्थेरिया) खोप सञ्चालनमा छन्।
यी खोपको निश्चित तापक्रममा भण्डारण गर्न कोल्ड चेन था खोप व्यवस्थापन रणनीति २०७० अनुसार अधिकतमा मौज्दातका लागि ४४ हजार लिटर भन्दा बढी क्षमताको कोल्ड चेन भवन आवश्यक पर्छ।
व्यवस्थापन महाशाखाका अनुसार अहिलको कोल्ड चेन केन्द्रको क्षमता ४५ हजार लिटर छ।
महाशाखाका एक कर्मचारीले भने समयसमय गरिने खोप अभियानको लागि क्षमता भएकाले अतिरिक्त खोप भण्डारणका लागि समस्या भइरहन्छ।
त्यसबाहेक हालको कोल्ड चेन रुम भवन अस्थायी प्रकृतिको छ। ५० वर्ष पुरानो सो भवन नभइ सेड मात्र हो। जसकारणले भवन जिर्ण अवस्था छ।
मशाखाले खोपको गुणात्मकतालाई कायम राख्न, प्रभावकारी भ्याक्सिन व्यवस्थापन (इभीएम) को मान्यता अनुसार ८० प्रतिशत नयाँ भवन र अन्य भवन पनि आवश्यक भएको जनाएको छ।
महाशाखाले अत्याधुनिक कोल्ड चेन भवन निर्माण भएपछि राष्ट्रिय,अन्तर्रा्षिष्ट्रय स्तरको खोपको तालिम प्रदान गर्न, चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई खोपबारे जानकारी दिन मदत पुग्ने जनाएको छ।
महाशाखाले थप्ने नयाँ खोप रोटा भाइरस र पाठेघरको मुखको क्यान्सर रोक्ने एचपीभि र टाइफाइडको खोप भण्डारणका लागि पनि अत्याधुनिक र ठूलो क्षमताको भवन आवश्यक पर्ने बताएको छ। अर्थात् थप ४८ हजार लिटर थप क्षमता भएको भण्डारकक्ष आवश्यक पर्छ।
प्रत्येक ३ वर्ष विश्व स्वास्थ्य संगठन र युनिसेफको संग्लतामा हुने प्रभावकारी भ्याक्सिन व्यवस्थापन (इभिएम) मूल्यांकन हुँदै आएको छ। यसमा ९ वटा सूचक राखिएको छ।
सबै सूचक ८० प्रतिशत भन्दा बढी हुनुपर्छ। तर यी ९ सुचक मध्ये कोल्डचेन क्षमता एक सूचक हो। ८० प्रतिशतभन्दा कम आएमा देशको खोप व्यवस्थापन कमजोर मानिन्छ।