काठमाडौं– भक्तपुर नगरपालिका–१ दूधपाटीका कोरोना संक्रमित ६५ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ।
उच्च रक्तचाप र मधुमेहका बिरामी उनको भदौ ११ मा पिसीआर परीक्षण गरिएकोमा १२ गते शुक्रबार संक्रमण पुष्टि भएको थियो। होम आइसोलेसनमा बस्दै आएका उनको शनिबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले बताए।
कोरोना भाइरस पुष्टि भएपछि अस्पताल लैजान अनुरोध गर्दा परिवारले एक्लै खाना खान समस्या हुने भन्दै होम आइसोलेसनमा राखेका थिए। अब परिवारका सदस्यको पिसीआर परीक्षण गर्ने तयारी गरिएको छ। भक्तपुर जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ। जसमध्ये ४ जना महिला र ३ जना पुरुष छन्।