काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश ५ ले प्लाज्मा बैंकको अभियान सुरु गरेको छ।
भदौ १५ गते नेपाल स्वास्थ्य अनुसन्धान परिषद प्रदेश ५ को समन्वयनमा कपिलवस्तु अस्पताल तौलिहवामा नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु र रुपन्देही शाखाको सहकार्यमा उक्त अभियान सुरु भएको हो।
अभियानमा संक्रमण मुक्त भएका व्यक्तिहरुबाट अस्पतालका कर्मचारीहरुले प्लाज्मा थेरापीको लागि लागि १७ पिन्ट रगत संकलन गरेका छन्।
कोभिड उपचारमा सहज बनाउने उद्देश्यले उक्त अभियान सुरु गरेको प्रदेश ५ का परिषद संयोजक डा प्रशान्त आचार्य बताउँछन्।
उक्त रगत लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोभिड अस्पतालमा रहेका गम्भीर संक्रमितको प्लाज्मा थेरापीमा प्रयोग हुने आयोजकले जानकारी दिए।
अहिले रगत अभाव भएको कारण उचित समयमा प्लाज्मा थेरापी सुरु गर्न गाह्रो भइरहेको बेला यस्तो अभियानले सहज हुने भएकोले आममानिसमा जनचेतना फैलाउने आवश्यक भएको कन्भ्यालिसेन्ट प्लाज्मा उपचारका कोअर्डिनेटर डा सम्राट पराजुलीले जानकारी दिए।
उपचारमा प्लाज्मा अभाव हुन नदिन यसले सहयोग पु¥याउने र रगतबाट प्लाज्मा तयार गरी बुटवल ब्लड बैंकमा राखी एक वर्षसम्म प्रयोग गर्न सकिने लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन फिजिसियन डा सुदर्शन थापाले जानकारी दिए।