राजविराज- सिरहाका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। सिरहाको मिर्चैया नगरपालिका-६ का ५५ वर्षीय पुरुषको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो।
भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रतिष्ठानको आइसियुमा उपचाररत उनको आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए।
उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित उनलाई यसअघि विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो।
उपचारकै क्रममा उनको प्रतिष्ठानमा मृत्यु भएको प्रमुख यादवले बताए। योसँगै सिरहामा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ पुगेको छ। - रासस