काठमाडौं- बागमती प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा आफ्नो मातहतमा अस्पताल बनाउने गरी निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश मातहतमा अस्पताल नभएका जिल्लाका अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको सामाजिक विकासमन्त्रि युवराज दुलालले बताए।
प्रदेश स्तरीय अस्पताल नभएका दोलखाको चरिकोट प्राथमिक स्वास्थ्य केन्द्र, काभ्रेपलाञ्चोकको मेथिनकोट, ललितपुरको बज्रबाराही,र चितवनको रत्ननगर बकुलर अस्पताललाई प्रदेश अस्पतालमा स्तरोन्नती गर्ने निर्णय भएको उनले बताए।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतमा बसेको बैठकले प्रदेश मातहत नभएका, जिल्लाको स्थानीय तहमा रहेका अस्पतालहरुको स्तरोन्नति गर्ने निर्णय गरेको हो।
प्रदेशका ८ वटा जिल्लामा मात्र प्रदेश मातहतका अस्पताल रहेका छन्। हाल दोलखा, काभ्रे, काठमाडौं, ललितपुर र चितवनमा प्रदेश मातहतका अस्पताल छैनन्।
बैठकले पर्यटन व्यवसायको इजाजत नवीकरण तथा जरिवान/विलम्ब दस्तुरमा छुट दिने निर्णय पनि गरेको छ। प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश राजपत्र प्रकाशनसम्बन्धी (पहिलो संसोधन) निर्देशिका २०७७, दुध पाउडर प्लान्ट निर्माणका लागि जग्गा भोगचलन स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ।
यसैगरी मंगलबारको बैठकले महिला विकास प्रशिक्षण केन्द्र ललितपुरको संरचना प्रदेश मातहत ल्याउने र प्रदेश मातहत रहने आयोजनाहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको पनि मन्त्री दुलालले बताए।