काठमाडौं- काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाबारे आज निर्णय हुने भएको छ। काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू बसेर बुधबार निषेधाज्ञाबारे समीक्षा गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए।
'निषेधाज्ञाबारे बुधबार तीनै जिल्लाका सिडिओ (प्रमुख जिल्ला अधिकारी)हरू बस्ने कुरा छ। त्यही बैठकले निर्णय गर्छ,' उनले भने।
बुधबार बस्ने सिडिओहरूको बैठकले निषेधाज्ञाको समीक्षा गर्ने उनले बताए। निषेधाज्ञाको अवधि लम्ब्याउने वा खुकुलो पार्ने विषयमा पनि बुधबारमात्रै निर्णय हुने उनले जानकारी दिए।
काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न तीनै जिल्लाका सिडिओहरूले भदौ ३ गते राति १२ बजेबाट निषेधाज्ञाको आदेश जारी गरेका थिए।
पहिलो पटक भदौ १२ गतेसम्म लागू भएको निषेधाज्ञा पुनः भदौ १७ गते राति १२ बजेसम्मका लागि थप गरिएको थियो। निषेधाज्ञा जारी गरिएकै अविधमा पनि काठमाडौं उपत्यकामा कोरोना संक्रमितहरूको संख्या भने बढिरहेकै छ।