काठमाडौं– नेपालमा कूल कोरोना संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लामा छन्। काठमाडौंमा पनि महानगरभित्र सबैभन्दा धेरै संक्रमित छन्।
मंगलबार साँझसम्मको तथ्यांकअनुसार काठमाडौंमा कूल ४९०० संक्रमित रहेकोमा महानगरपालिकामा मात्रै २७०७ जना छन्। तीमध्ये ११०२ सक्रिय संक्रमित छन्। महानगरका ३२ वटै वडामा कोरोना संक्रमण देखिएको छ। तीमध्ये सबैभन्दा धेरै संक्रमित ३२ नम्बर वडा रहेको कोटेश्वर क्षेत्रमा छन्। त्यहाँ कुल २०३ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै सक्रिय संक्रमित रहेको क्षेत्र वडा नम्वर ३ को महाराजगन्ज रहेको छ। उक्त क्षेत्रमा १०८संक्रिय सक्रमित रहेका छन्।
नेपालभर भने कोरोना संक्रमितको कूल संख्या ४० हजार ५ सय २९ पुगेको छ। सक्रिय संक्रमित १८ हजार १ सय १२ जना रहेका छन्।
काठमाडौ महानगरपालिका मेयर विद्यासुन्दर शाक्य नै संक्रमित रहेका छन्। उनी अहिले आइसोलेनमा रहेका छन्। उनीसँगै महानगरका तीन कर्मचारी पनि संक्रमित छन् ।
बल्ल आइसोलेसन सेन्टर बनाउने तयारी
संक्रमण सुरु भएदेखि नै तयारी थाल्नुपर्नेमा काठमाडौ महानगर उक्त समयमा मौन बसेको थियो। अब उपत्यकामा संक्रमितको संख्या ह्वात्तै वृद्धि हुन थालेपछि भने बागमती प्रदेशसँग मिलेर महानगरले आईसोलेसन बनाउने तयारी गरेको छ। मंगलबार मात्र बागमती प्रदेश मन्त्रिपरिषदले अस्पताल नभएका जिल्लामा अस्पताल र थप आइसोलेन बनाउने निर्णय गरेको थियो।
