काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ सयभन्दा बढी कोरोना संक्रमित भेटिएका जिल्लामा लकडाउन गर्न आग्रह गरेको छ।
कोरोनाको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २ सय बढी कोरोना भेटिएका जिल्लामा लकडाउन गर्न आग्रह गरेको हो। हाल पाँच सय बढी संक्रमित भेटिएका जिल्लामा सरकारले निषेधाज्ञा लागू गरेको छ।
हाल ५ सय बढी संक्रमित भेटिएका जिल्ला १२ वटा छन्। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश बाहेक चार वटा प्रदेशका १२ जिल्लामा ५ सय बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
प्रदेश १ मोरङ र सुनसरी, प्रदेश २ को धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट र सर्लाहीमा ५ सय बढी संक्रमित भेटिएका छन्। यसको सूचीमा बागमती प्रदेशको काठमाडौं, ललितपुर र चितवन, प्रदेश ५ को रुपन्देही पनि रहेको मन्त्रालयले जनाएको छ।