काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खुला सिमाना, क्वारेन्टाइन व्यवस्थापन र कन्ट्याक्ट टे«सिङ कोरोना संक्रमणमा चुनौती भएको बताइएको छ।
स्वास्थ्य मन्त्रालयले शुक्रबार सञ्चारकर्मीसँग गरेको भर्चुअल अन्र्तक्रियामा होम आइसोलेसन र क्वारेन्टाइन, अस्पताल व्यवस्थापन, सूचना व्यवस्थापन र दु्रत रिर्पोटिङ पनि कोरोना संक्रमण नियन्त्रणमा चुनौतीका रुपमा रहेको बताएको हो।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ एवं कोभिड–१९ फोकल पर्सन महेन्द्रप्रसाद श्रेष्ठले छिमेकी देश भारतमा संक्रमणदर उच्च रहेको र नेपालससँग खुला सिमानाका कारण संक्रमण नियन्त्रण गर्न समस्या हुने बताए।
उनले भने, ‘संसारमा देखिएको कुल संक्रमणको १५ प्रतिशत भारतमा मात्र देखिएको छ भने भारतबाट नेपाल आउने क्रम जारी नै छ। यो नेपालको लागि ठूलो चुनौतीको रुपमा छ।’
प्रमुख विशेज्ञष श्रेष्ठले पुनः संक्रमण देखिएकोबारे अध्ययन भइरहेको जानकारी दिए। उनले कति जनालाई पुनः संक्रमण भएको छ, कति गम्भीर बिरामी निको भए भन्नेबारे पनि तथ्यांक संकलन गरिरहेको जानकारी दिए।
पिसिआर रिपोर्ट ढिला आउने र गुणस्तरमा प्रश्न उठेकाले त्यसलाई सुधार्न मन्त्रालयले गृहकार्य सुरु गरेको उनको भनाइ छ।
मन्त्रालयले स्थानीय पालिका तहमा संक्रमण समुदायस्तरमा फैलिएको भए पनि देभभरको स्थिति कलस्टरको रुपमा रहेको बताएको छ।
‘अहिले समुदायमा संक्रमण भएको छ, त्यसमा दुईमत छैन। समुदायको पालिका लेभल र जिल्ला लेभलमा संक्रमण भएको छ। तर देशभरि नै समुदायमा संक्रमण भएको भने होइन,’ श्रेष्ठले भने।
प्रमुख विशेषज्ञ श्रेष्ठले अहिले कोभिड–१९ उपचार, नियन्त्रणमा कहाँ के भइरहेको छ, के समस्या छ भनेर मोनिटरिङ गर्न डा मदन उपाध्यायको नेतृत्वको टिम बनेको जानकारी दिए।