जगदिश बुढा
जुम्ला– गत असार ६ गते सिँजा गाउँपालिकाकी ३९ वर्षीया एक गर्भवती सुत्केरी हुन जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुगिन्। उनको मुटु र फोक्सो तथा श्वासप्रश्वासमा समस्या थियो। श्वास फेर्न गाह्रो भइरहेको थियो। चिकित्सकको सल्लाह अनुसार उनको स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि पठाइयो।
परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आयो। चिकित्सकले सुरुमा पोजेटिभ आएको खबर सुनाउँदा महिलाले पत्याएनन्। तर पछि कन्भिन्स भए। जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्न सुरु भयो। निको भएर घर फर्कंदा यहाँ उपचार गर्न आएका महिला स्वास्थ्यकर्मीलाई भगवान ठान्दै फर्कन्छन्।
पहिलो पटक अस्पतालमा सुत्केरी हुन आएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि चिकित्सक तथा स्वास्थ्यकर्मी झस्किए। तर कोरोनादेखि डराएनन्। नर्मल सुत्केरी भएकी ती महिलाको बच्चामा समेत एक हप्ताभित्र कोरोना पोजेटिभ देखियो। सुत्केरी वार्डमै छुट्टै आइसोलेसनको व्यवस्थापन गरियो। चिकित्सक तथा स्वास्थ्यकर्मी उपचारमा निकै खटिए।
फलस्वरुप एक हप्तामा उनको कोरोना रिपोर्ट नेगेटिभ आयो। उनलाई नर्मल सुत्केरी गराउन सफल भए। बच्चामा देखिएको कोरोना पनि निको भयो। आमा र बच्चालाई सकुशल घर फर्काउन सफल भए। मुटु र फोक्सोको रोग हुनु, त्यसैमा कोेरोना पोजेटिभ देखिनुले आमाको अवस्था निकै खतरा थियो। यस्तो अवस्थामा आमाको मृत्यु हुने सम्भावना धेरै हुन्छ, तर चिकित्सक तथा स्वास्थ्यकर्मीको नियमित निगरानी र उपचारले उनी बाँचिन्।
उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ डा सुबी बस्न्यात भन्छिन्, ‘बिरामीमा देखिएको रोगदेखि डराएका सबै निको भएर घर फर्कंदा निकै खुसी भयौँ। कोरोना कहरभित्र पनि सुत्केरी स्याहारमा लाग्यौँ।’
कालीकोट महाबैकी एक महिलालाई गाउँमा कोरोना हुनसक्ने भन्दै अस्पतालमा ल्याइयो। उनको पहिलो गर्भ थियो। ‘तीन दिनदेखि लगातार ज्वरो आइरहेको थियो। कोरोना परीक्षण गर्दा रिपोर्ट पोेजेटिभ आयो। अक्सिजन दियौँ, एन्टिबायोटिक औषधि चढायौँ,’ डा बस्न्यातले भनिन्, ‘नर्मल सुत्केरी गराएर एक साता आइसोलेसनमा राखेर नर्मल सुत्केरी गराएर घर फर्कायौँ।’
‘पहिलो चरणमा रिपोर्ट पोजेटिभ आउँदा उनीहरुले पत्याएनन्, तर लामो समयसम्म कोरोनाको लक्षण र रोकथामका बारेमा सहजीकरण गरेपछि मात्र विश्वस्त भए,’ डा बस्न्यातले भनिन्, ‘पछि उपचार गर्न सहज भयो।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका चिकित्सकले कोरोना पोजेटिभ देखिएका ६ जनाको शल्यक्रिया तथा उपचार गरेका छन्। ‘पेटमा बच्चाले दिसा गरेको, ज्वरो आएको र श्वासप्रश्वासमा समस्या भएका महिलामा कोरोना पाजेटिभ देखिएपछि उनीहरुलाई सबैको माया र उत्साह चाहिन्छ,’ डा बस्न्यातले भनिन्, ‘यो बेला हामीले निकै माया ग¥यौं, उत्साह दियौं। सुरक्षा मापदण्डका बारेमा सहजीकरण गरेर सुरक्षित हुन आग्रह गर्यौं। चिकित्सक तथा स्वास्थ्यकर्मीको निरन्तर निगरानी रह्यो। सबै पोेजेटिभ आएका महिलालाई निको बनाएर घर फर्काउन सक्षम भयौँ। यो सिंगो अस्पतालको उपलब्धि हो।’
‘हाम्रो ध्यान कोरोनामा भन्दा पनि कोरोना संक्रमित महिला बचाउनमा गयो। डरत्रास भएन। सुत्केरी हुन आएका महिलाको उपचारमा चिकित्सक सहित १५ जना स्वास्थ्यकर्मी सहभागी थिए। यी केस म्यानेज गर्दा एक हप्ताभित्रै बस्यौँ। रोटेसनमा उपचारमा सबै सहभागि भयांै। कोरोना ब्याटलमा प्रत्यक्ष रुपमा लड्यौँ। संक्रमित महिलासँग रमायौँ। उनीहरुको आशा र भरोसा बन्यौँ। यही जिन्दगीको सबैभन्दा ठूलो खुसि हो,’ उनले भनिन्।
अस्पतालमा आउने बित्तिकै महिलालाई सुरुमा कोरोनाको बारेमा काउन्सिलिङ गर्ने गरेको उनले बताइन्। ‘सुरुमा महिला डराउँछिन्। पोजेटिभ देखिएको खण्डमा आफन्त समेत नजिक आउँदैनन्,’ चिकित्सकहरु भन्छन्, ‘निको भइसक्दासम्म ढुक्क भएर घर फर्कन्छन्। यसैमा हामी सन्तुष्ट हुन्छौँ।’ अस्पतालको सुत्केरी वार्डभित्र सिरियस संक्रमित बस्ने छुट्टै वार्ड बनेको छ। उनीहरु बाहेक कसैलाई बस्न दिइँदैन्। दूध खाने बच्चालाई उनीहरुसँगै राख्छन्। संक्रमित महिलाको उपचारमा संलग्न हुँदा सबैको पिसिआर गरिन्छ।
उपचारमा स्त्रीरोग विशेषज्ञ डा बस्न्यात, एनएस्थेसियाका डा रबिन खातुङ लगायतको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली खटिएको थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा यो समयमा सबैभन्दा बढी ८० जना महिला सुत्केरी भएका छन्।
संक्रमितको नजिक आउन नमानिरहेको अवस्थामा यहाँका स्वास्थ्यकर्मी भने संक्रमितसँगसँगै उपचारमा संलग्न भइरहेका छन्। उनीहरुले जोखिमपूर्ण अवस्थामा डराउनुभन्दा डटेर सामना गर्नु उपयुक्त मानेर यहाँका चिकित्सक उपचारमा खटिइरहेका छन्।