काठमाडौं- काठमाडौं उपत्यकाको १९ वटा अस्पतालमा करिब २ हजार कोरोना संक्रमित उपचाररत छन्। १ हजार ६ सय ९५ आइसोलेसनमा, १ सय ८ आइसियु र २० जना भेन्टिलेटरमा गरी १ हजार ८ सय २३ जना संक्रमित उपचाररत छन्।
१९ अस्पतालमध्ये नेपाल प्रहरी अस्पतालमा सबैभन्दा धेरै संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपाल प्रहरी अस्पतालमा मात्र हाल ३ सय ४५ जना संक्रमित उपचाररत छन्।
महेश मनमोहन अस्पताल दहचोकमा २ सय ३५ संक्रमित, कीर्तिपुर आयुर्वेद अस्पतालमा २ सय ३ जना संक्रमितको उपचार भइरहेको छ। यी अस्पतालमा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।
यी अस्पतालपछि सबैभन्दा धेरै संक्रमित बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा छन्। त्यहाँ १ सय ८९ आइसोलेसन, ६ आइसियु र १ भेन्टिलेटरमा गरी १ सय ९६ जना संक्रमित छन्। श्री वीरेन्द्र अस्पतालमा १ सय १५ आइसोलेसन र १७ जना आइसियुमा गरी १ सय ३२ जना संक्रमित उपचाररत छन्।
यस्तै, खरिपाटी आइसोलेसन सेन्टरमा ७७ आइसोलेसन र ३० आइसियुमा गरी १ सय ७, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा ७८ आइसोलेसन, ३ आइसियु र ७ भेन्टिलेटर गरी ९७, स्पाइलन इन्जुरी पुनर्स्थापना केन्द्र काभ्रेमा ९६ जना संक्रमित उपचाररत छन्।
मन्त्रालयका अनुसार वीर अस्पतालमा ७७ आइसोलसन र २ आइसियुमा गरी ७९, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ५८ आइसोलेसन र ६ आइसियु गरी ६४, इचंकु नारायण आइसोलेसन सेन्टर रानीवनमा ६२, मेघा अस्तालमा ५० जना संक्रमित उपचाररत छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र ह्याम्स अस्पतालमा ४१/४१ जना संक्रमित छन्। शुक्रराज अस्पतालमा २० आइसोलेसन, १७ आइसियु र ४ भेन्टिलेटर गरी ४१, ह्याम्स अस्पतालमा २७ आइसोलेसन, १० आइसियु र ४ भेन्टिलेटर गरी ४१ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
काठमाडौं मेडिकल कलेज दुवाकोटमा १६ आइसोलेसन र ३ आइसियु गरी १९, धुलिखेल अस्पतालमा २२ आइसोलेसन र १ आइसियु गरी २३ जना, भक्तपुर अस्पताल कोभिड उपचार केन्द्र र शीर मेमोरियल इडभेन्टिस्ट अस्पताल बनेपामा ८/८ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
यस्तै, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ८ आइसोलेसन, ५ आइसियु र ४ भेन्टिलेटर गरी १७ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ।