काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत कार्यरत २ जना कर्मचारीलाई निजामती सेवा दिवसका अवसरमा पुरस्कार गर्ने निर्णय गरेको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत उषादेवी देवकोटालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र मन्त्रालयमा कार्यरत सहसचिव रघुराम विष्टलाई निजामती सेवा पुरस्कार प्रादन गर्ने निर्णय भएको हो।
टेकु अस्पतालमा आइसियु इन्चार्जका रुपमा कार्यरत देवकोटा नर्सिङ निरीक्षक (अधिकृत छैटौँ) तहमा कार्यरत छिन्। उनलाई १ लाख रुपैयाँ सहितको उत्कृष्ट निजामती कर्मचारी पुरस्कार प्रादन गरिएको हो।
यस्तै, ५० हजार रुपैयाँ रासीको पुरस्कार विष्टले प्राप्त गरेका हुन्।
निजामति कर्मचारी दिवसका अवसरमा यसपालि पनि सर्वोत्कृष्ट निजामति सेवा पुरस्कार भने कसैले पनि नपाउने भएका छन्। कुनै पनि निजामति कर्मचारीले सर्वोत्कृष्ट निजामति सेवा पुरस्कार नपाएको यो लगातार चौथो वर्ष हो।
अघिल्ला वर्षहरूमा झैँ निजामति कर्मचारी दिवसका अवसरमा सोमबार १० जना कर्मचारीलाई उत्कृष्ट र ३० जनालाई निजामति सेवा पुरस्कार दिइँदैछ।
सरकारले राम्रो ठानेर पुरस्कृत गरिएकाहरू नै घुससहित रंगेहात पक्राउ पर्ने थालेपछि निजामति पुरस्कारको गरिमामा आँच आएको थियो। सरकारले हरेक वर्ष भदौ २२ गते निजामति कर्मचारी दिवस बनाउँदै आएको छ। निजामति सेवा नियमावली २०५० अनुसार निजामति सेवा पुरस्कारको व्यवस्था गरिएको छ। जसमा दुई लाख रुपैयाँसहित एक जनालाई सर्वोत्कृष्ट, एक लाख रुपैयाँसहित १० जनालाई उत्कृष्ट र ५० हजार रुपैयाँसहित ३० जनालाई निजामति सेवा पुरस्कार दिइन्छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार ३१ गते एक सूचना जारी गर्दै निजामति कर्मचारी कार्यरत सबै मन्त्रालय, सचिवालय तथा आयोगहरूलाई मातहतका कार्यालयका कर्मचारीहरूसमेत समेटिने गरी साउन १५ गतेभित्र आइपुग्ने गरी पठाउन भनेको थियो।
नेपाल सरकारका मुख्यसचिवको संयोजकत्वमा रहने सिफारिस समितिले देशभरिबाट प्राप्त नामहरूमध्ये पुरस्कृत हुने निजामति कर्मचारीको नाम सिफारिस गर्ने गर्छ । जुन समितिमा कानुन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल सरकारले तोकेको नेपाल सरकारका कुनै सचिव (गृह मन्त्रालय) र अवकाशप्राप्त पूर्व मुख्यसचिव हुन्छन्।
सर्वोत्कृष्ट हुनका लागि करिब एक दर्जन जति आधारहरू मानिँदै आएको छ ।
एक जनाले मात्रै पाउने सर्वोत्कृष्ट कर्मचारी पुरस्कारका लागि सेवाको स्थायी पदमा १५ वर्ष वा सोभन्दा बढी अवधि सेवा गरेको, पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याङ्कनमा शतप्रतिशत अङ्क प्राप्त गरेको, पछिल्लो १५ वर्षमा कुनै पनि विभागीय सजाय नपाएको, पुरस्कारका लागि सिफारिस हुने वर्षमा निजको नाममा व्यक्तिगत बेरुजु कायम नदेखिएको, सम्पत्ति विवरण नियमित रूपमा पेस गरेको, असाधारण बिदा लिएको भए त्यस्तो बिदापछि हाजिर भएको अवधि कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था छ।
यस्तै पुरस्कारका लागि सिफारिस हुने वर्ष र त्यसको अघिल्लो वर्षमा अध्ययन बिदा नलिएको, पछिल्लो पाँच वर्षभित्र गयल कट्टीमा नपरेको, व्यवस्थापन परीक्षण भएकोमा पुरस्कारका लागि सिफारिस हुने वर्षमा निजको नाममा प्रशासनिक बेरुजु नदेखिएको र प्रचलित कानुनबमोजिम बरबुझारथ गरेको जस्ता आधारहरू तय गरिएको छ ।
यी हुन निजामती पुरस्कार पाउने कर्मचारी