काठमाडौं - नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित एक पुरुषको सफल रुपमा आन्द्राको शल्यक्रिया गरिएको छ।
दैलेख भगवतीमाई गाउँपालिका वडा नं १ का ३८ वर्षीय संक्रमित पुरुषको सफल रुपमा आन्द्राको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ। ती पुरुषको आन्द्राको पहिलो भागमा अल्स विग्रेर फुटेको थियो।
प्रादेशिक अस्पताल सुर्खेतबाट उनलाई नेपालगञ्ज अस्पतालमा सोमबार बिहानै रेफर गरेको थियो । उनको तत्काल शल्यक्रिया गर्नुपर्ने भएकाले बिहान सवा ८ बजेदेखि सवा ९ बजे एक घण्टा शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । हाल उनको बिपि पल्स सामान्य रहेको र भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।
चिकित्सकहरु डा. दिग्विजय खड्का, डा अरुण ज्ञवाली, डा शिरि खड्का, स्टाफ नर्सहरु दुर्गा पन्त, पार्वती शाह, प्रेम कुमारी बस्नेत लगायत उक्त शल्यक्रियामा संलग्न थिए ।