काठमाडौं- काठमाडौं उपत्यकाका मेयरहरुले निषेधाज्ञा खुकुलो बनाउन सुझाव दिएका छन्। मंगलबार उपत्यकाका मेयरहरुको फोरमको राष्ट्रियसभा गृहमा बसेको बैठकले उपत्यकाको निषेधाज्ञा खुकुलो बनाउन सुझाव दिएको हो।
सार्वजनिक यातायातबाहेक अन्य साधानलाई जोर/बिजोर प्रणाली लागू गरी निषेधाज्ञा खुकुलो बनाउन सुझाव दिएको गोदावारी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बताए। सवारी साधान जोरबिजोर चलाएपनि स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्नुपर्ने सुझाव दिएको छ।
दैनिक ज्यालादारी गर्ने र साना व्यवसाय गर्नेलाई निषेधाज्ञाले गम्भीर असर गरेपछि खुकुलो बनाउने सुझाव दिएको महर्जनले बताए।
उपत्यकाभित्र प्रवेश गर्ने नाकामा नेपाली सेना परिचालन गर्नुपर्ने सुझाव दिइएको छ।
‘हामीले निषेधाज्ञा खुकुलो बनाउन सुझाव दिएका छौं’ महर्जनले भने, ‘काठमाडौं,ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले त्यससम्बन्धी निर्णय भोलिसम्म गर्नुहुन्छ।’ निषेधाज्ञा खुकुलो बनाएपनि अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आम सर्वसाधरणलाई महर्जनले आग्रह गरे।