काठमाडौं- माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालले ‘भोको पेट सुत्न नपरोस्’ भन्ने अभियान सुरु गरेको छ।
अस्पतालले कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाले दैनिक मजदुूरी गरेर खानेहरुलाई मध्यनजर गरेर यो अभियान सञ्चालन गरेको अस्पतालका वरिष्ठ न्युरो सर्जन डा बसन्त पन्तले जानकारी दिए।
अभियान अन्तर्गत अस्पतालले सात दिनदेखि हरेक साँझ काठमाडौंको कालिमाटीमा १ सय ३० जना मजदूरलाई खाना खुवाउँदै आएको डा पन्तले बताए।
‘हामीले अस्पतालको क्यान्टिनमा खाना बनाएर बाँड्ने गरेका छौँ। सुरुमा हामीले त्यहाँ खाना बाँड्न जाँदा पहिले नै लियो क्लब खाना बाँडिरहेको रहेछ,’ डा पन्तले भने, ‘हामीले क्लबसँग सहकार्य गरेर खाना खुवाउने कार्यक्रम गरिरहेका छौं।’
सुरुवाती चरणमा अस्पतालले कर्मचारीको सहयोगमा एक महिना दैनिक ज्यालादारी मजदूरलाई खाना खुवाउने योजना बनाएको थियो। तर अस्पताललाई सहयोग गर्नेहरु बढेपछि अभियानलाई अझै लम्ब्याउने योजना रहेको डा पन्तले बताए।
‘पत्रपत्रिका, टेलिभिजनमा मजदूरी गरेर खाने मानिसहरु भोकभोकै सुत्नु परेको छ भन्ने खबर सुनेपछि अस्पतालले पनि सहयोग गर्ने योजना बनायो। अस्पतालका कर्मचारीले आफूले गर्न सक्ने सहयोग गर्नुभयो। हामीले एक महिनासम्म खाना खुवाउने योजना बनाएका थियौं, पन्तले योजना सुनाए, ‘अहिले हाम्रा शुभचिन्तक, आफन्तहरु र साथीभाइले हामीले गरेको कार्यमा सहयोग गर्न थाल्नुभयो। त्यसैले अब डेढ महिनालाई खुवाउन सक्ने फन्ड जम्मा भएको छ।’
मजदूरी गर्ने अधिकांश व्यक्ति काठमाडौं बाहिरका भएकाले निषेधाज्ञामा घर जान नपाउँदा भोकभोकै सुत्नु परेको गुनासो गर्ने गरेको पन्तले बताए। मजदूरको पीडा बुझेपछि डा पन्तले उनीहरुलाई घरसम्म लैजाने योजना बनाएका छन्।
‘अधिकांशले घर जान खोजिरहेका छन्। यहाँ घरबेटीले भाडा तिर्न नसकेर निकालिदिएको गुनासो उनीहरुको छ। न सरकारबाट राहत पाएका छन् न खानबस्नको व्यवस्था। उनीहरुको बिचल्ली छ,’ डा पन्तले भने, ‘सडकमा भोकभोकै सुत्नु परेको छ भनेर गुनासो गरेका छन्। घर जान चाहनेहरुको लागि बस रिजर्भ गरेर उनीहरुलाई घर पु¥याउने योजना छ। त्यसको लागि लियो कलबलाई घर जान चाहनेको लिस्ट बनाउन भनेको छु।’