काठमाडौं- बलिउड अभिनेत्री मनिषा कोइरालाले कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचारमा अग्रस्थानमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई सम्मान गर्न अनुरोध गरेकी छिन्।
कोइरालाले अग्रस्थानमा रही काम गरिरहेका व्यक्तिहरुको हौसला बढाई जिम्मेवार नागरिक बन्न र यस्ता व्यक्तिलाई दुव्र्यवहार नगर्न आग्रह गरेकी छिन्।
कोरोना संक्रमणको यो विषम समयमा नागरिकलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह गर्दै मास्क लगाउन, भौतिक दूरी कायम राख्ने कुरामा ध्यान दिन पनि आग्रह गरेकी छिन्।
सुशील कोइराला मेमोरियल फाउन्डेसनले मंगलबार आयोजना गरेको ‘अन्वेषण यात्रा’ कार्यक्रम अन्र्तगत मानसिक र शारीरिक स्वास्थ्यबारे भर्चुअल कार्यक्रममा उनले जीवन सधैं भनेकै जस्तो नहुने भएकाले धेरै अपेक्षा नराखी सही बाटो हिँडनुपर्ने बताइन्।
उनले भनिन्, ‘यो दुःखको समयमा हामीले आफैंसँग प्रतिवद्ध भई आफूलाई पनि राम्रोसँग राख्छु र दुुुःख पाएकालाई सकेको सहयोग गर्छु भन्ने भावनाको विकास गराँैं र यो महामारीसँग मिलेर लडौं।’
उनले महामारीको समयमा अन्य समयमा भन्दा आफूले अझ बढी मानसिक र शारीरिक स्वास्थ्यमा ध्यान दिएको समेत अनुभव सुनाइन्।
उनले भनिन्, ‘मैले सकेसम्म पोषिलो खानेकुरा खाने, नियमित व्यायाम, ध्यान गर्ने, नेगेटिभ समाचार र प्रचारबाट टाढै रहने र नयाँ कुरा सिक्न किताब पढ्ने गरिरहेको छु।’
मनोविज्ञ डा करुणा कुँवरले पहिले पनि म्यानेन्जाइटिस, कलेराजस्ता रोग महामारीको रुपमा आएको भए पनि कोभिड–१९ ले पहिलो पटक जनमानसमा महामारी महसुस भइरहेको बताइन्।
उनले लामो समयसम्म सामाजिक चहलपहल, व्यक्तिगत भेटघाट गर्न नपाउँदा, कामकाज सबै ठप्प भएको र समाजमा मानसिक समस्या बढिरहेको बताइन्।
उनले भनिन्, ‘मानसिक समस्या निकै बढेको छ। जसका कारण डिप्रेसन, चिन्ता सबैभन्दा धेरै बढाएको छ। आत्महत्या दर पनि बढेको छ। यो समयमा श्रीमानश्रीमतीको डिभोर्ड हुने क्रम पनि बढेको देखिएको छ।’
उनले पछिल्लो समयमा मानिसमा अनावश्यक रिस उठ्ने, चिडचिड हुने समस्या देखिन थालेको बताउँदै घरमा सबै परिवारका सदस्य एकआपसमा समय बिताउन, आफ्ना कुरा सेयर गर्ने, मोबाइल, ल्यापटपमा भन्दा परिवार सदस्यसँग समय बिताउन सल्लाह दिएकी छिन्।
उनले मानसिक समस्या र मानसिक रोगबाट बच्च सुत्ने समय नियमित बनाउन र पूरा निद्रा कम्तीमा ७ देखि ८ घन्टा निदाउन सल्लाह दिएकी छिन्।
कोभिड–१९ ले पहिले पनि चर्चा भइरहने तर खासै महत्व नदिइएको मानसिक स्वास्थ्यप्रतिको चासो बढाएको अनुभव गरेको मनोविद् कुँवरले बताइन्।
अहिले मानसिक स्वास्थ्यको महत्वलाई सरकारले पनि प्राथमिकतामा राख्न ध्यानकर्षित गराउने अपेक्षा राखेको बताइन्।
उनले भनिन्, ‘हामीलाई अहिले मानसिक स्वास्थ्य किन महत्वपूर्ण छ भन्ने कुरा फेरि अवगत गराएको छ। सरकारले पनि मानसिक स्वास्थ्यका विषयमा प्रभावकारी नीतिनियम बनाई कार्यान्वयनमा ल्याउने विश्वास छ।’