काठमाडौं– नेपाल रेडक्रस सोसाइटी र नेपाल चिकित्सक संघबीच प्लाज्मा बैंक स्थापना गर्न सम्झौता भएको छ।
कोरोना संक्रमणबाट निको भई साधारण जीवन यापन गरिरहेका दाताहरुको नाम संकलन गरी प्लाज्मा बैंक स्थापना गरि सहकार्य गर्दै अगाडी बढ्न उनीहरुबीच बुधबार सम्झौता भएको हो।
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा नेत्र प्रसाद तिमिल्सिना र नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले ७ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
यस्ता छन् सम्झौताका बुँदा
१. रेडक्रसले प्लाज्मा दानका लागि आवश्यक पर्ने सम्पूर्ण प्रविधिक जनशक्ति, प्लाज्मा ब्याग लगायत आवश्यक सामग्रीहरुको व्यवस्थापन गर्ने ।
२. रेडक्रसले प्लाज्मा बैंकको स्थापना गरी प्लाज्मा संकलन गर्ने ।
३. चिकित्सक संघले प्लाज्मा संकलनका लागि कोभिड १९को संक्रमिण भई निको भएका नागरिकहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको विवरण संकलन गरी प्लाज्मा दान गर्नका लागि सरोकारवाला दाताहरुसँग समन्ययनकारी भुमिका निर्वाह गर्ने ।
४. चिकित्सक संघले रेडक्रसको समन्वयनमा प्लाज्मा दान गर्ने दाताहरुको उच्च सम्मान गर्नका लागि आवश्यक तयारी गर्ने ।
५.रेडक्रससँग प्लाज्मा संकलन तथा प्लाज्मा बैंक स्थापनाका लागि सहयोग र सहकार्य गर्दै जाने ।
६.चिकित्सक संघले प्लाज्मा दान गर्दा दाताहरुलाई कुनै पनि शारीरिक तथा मानसिक असरहरु नपर्ने भएकोले उहाँहरुको योगदानबाट अन्य नागरिकहरुको जीवन रक्षा गर्ने पवित्र कार्यमा संलग्न हुन सरोकारवालाहरुलाई प्रोत्साहान गर्ने र जनचेतना जागृत गराउने।
७.दुवै संस्थाको हकहित र व्यवसायिक दक्षताका निम्ती निरन्तर सहकार्य गर्ने।