काठमाडौं- काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि जारी गरिएको निषेधाज्ञा खुकुलो बनाइएसँगै सार्वजनिक यातायात पनि चल्ने भएका छन्। तर सार्वजनिक यातायात संचालन गर्दा तोकिएका सबै सर्त र स्वास्थ्य सुरक्षाका मापदण्ड भने पालना गर्नुपर्ने स्पष्ट पारिएको छ।
उपत्यकामा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा खुकुलो बनाउँदै सार्वजनिक यातायात संचालन गर्न दिने निर्णय गरेका हुन्।
सरकारले तोकेका सर्तहरूमध्ये १६ सिट क्षमताभन्दा बढीका सार्वजनिक यात्रुबाहक सवारी साधन मात्र सञ्चालन गर्न सकिनेछ।
यातायात व्यवसायीले असोज १ गतेबाट सरकारले नखुलाएपनि गाडी गुडाउने चेतावनी दिएसँगै सरकारका तर्फबाट यस्तो निर्णय आएको हो।
यात्रुवाहक सार्वजनिक यातायातका साधनहरू सञ्चालन गर्दा मापदण्ड अनुरूप सामाजिक दुरी कायम हुने गरी एक लहरमा एक जना (कूल सीट क्षमताको आधा भन्दा नबढ्ने गरी) मात्र बस्ने व्यवस्था मिलाउने, चालक, सहचालक तथा यात्रुहरूले मास्क अनिवार्य लगाउनु पर्ने, सवारी साधनको ढोकामै स्यानीटाइजरको व्यवस्था हुनु पर्ने, सहचालकले पञ्जा लगाउनु पर्ने र अनिवार्य रूपमा सवारी साधनको दैनिक निसंक्रमित गरिएको हुनुपर्नेछ।
यसरी सञ्चालन हुने सार्वजनिक तथा निजि सवारी साधनहरु जोर विजोर प्रणाली अनुसार सञ्चालन गर्नु पर्नेछ । तर मालबाहक ढुवानीका सवारी साधनहरु सञ्चालनको हकमा जोर विजोर प्रणाली लागु हुने छैन। अत्यावश्यक वस्तु वा सेवा मध्ये औषधी विक्री वितरण गर्ने र स्वास्थ्य सामग्री विक्री वितरण गर्ने पसल र व्यवसाय जुनसुकै समयमा पनि सञ्चालन गर्न सकिने बताइएको छ।
भाडाका ट्याक्सीको हकमा चालकसहित ३ जना मात्र र परिवारभित्रमा ५ वर्षमुनिका बालबालिका २ जनासम्म थप राख्न सकिने छ।
निजि सवारी साधनहरु (मोटरसाइकल र स्कुटर समेत) स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने तथा भौतिक दूरी कायम गर्ने गराउने गरी सञ्चालन गर्न सकिने बताइएको छ।