काठमाडौं– देशभर कोरोना संक्रमितको संख्या ५० हजारनजिक पुगेको छ। बुधबार साँझसम्मको तथ्यांकअनुसार ४९ हजार २ सय १९ जनामा संक्रमण पुष्टि भइसकेको छ। हाल १५ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् भने ३१२ जनाको मृत्यु भएको छ।
भदौ ५ गतेपछि कोरोना संक्रमणको दर देशभरि बढेको छ। अहिले काठमाडौं कोरोनाको ‘हटस्पट’ भएको छ। ७७ जिल्लामा सबैभन्दा धेरै संक्रमित अहिले काठमाडौं जिल्लामा छन्। प्रदेशगत रुपमा २ नम्बर प्रदेश पहिलो नम्बरमा छ भने बागमती प्रदेश दोस्रो नम्बरमा छ। काठमाडौंपछि पर्सामा धेरै संक्रमित छन्।
कसरी बढ्यो काठमाडौंमा ?
साउन ५ गते काठमाडौमा २ जना संक्रमित थपिएका थिए। यो संख्या विस्तारै बढ्दै गयो। साउन १९ गते ४३ जना संक्रमित थपिए। योसँगै संक्रमित थपिने संख्या दोहोरो अंकमा बढ्दै गयो। साउन २७ गते एकैपटक ११० जना थपिए। यसरी संक्रमित थपिने क्रम तीन अंकमा पुग्यो। भदौ ९ गते २ सय नजिक पुग्यो। यसरी थपिने सिलसिला अझै पनि जारी छ।
बुधबारमात्रै काठमाडौमा ३९४ जना संक्रमित थपिए। अब काठमाडौंमा दैनिक ४ सयको हाराहारीमा संक्रमित थपिन थालेका छन्। हालसम्म काठमाडौंमा ७ हजार ६ सय ११ जना संक्रमित फेला परेका छन्, जसमा ५ हजार एक २० जना पुरुष र २ हजार ४ सय ९१ महिला रहेका छन्।
यी हुन् धेरै संक्रमित रहेका १० जिल्ला
काठमाडौ ७६११
पर्सा २५०६
सर्लाही २१२३
मोरङ २०४३
रौतहट १९९६
धनुषा १८५२
कैलाली १८२१
रुपन्देही १४३८
महोत्तरी १३७९
बाँके १२८९