काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजारभन्दा बढी पुगिसकेको छ। संक्रमण देखिएकामध्ये बुधबार साँझसम्म ३१२ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमण देखिएकामध्ये बुधबार साँझसम्म सबै उमेर समूहका गरेर शून्य दशमलव ६ प्रतिशतको मृत्यु भएको छ।
तर, संक्रमितको संख्यालाई उमेर समूह अनुसार हेर्ने हो भने सबैभन्दा बढी मृत्युको दर ८० वर्ष माथिको छ।
मन्त्रालयले आधाकारिक रुपमा सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा हालसम्म ८० वर्षमाथिका २०८ जना कोरोना संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये ९० जना महिला र ११८ जना पुरुष छन्।
८० वर्षका कुल संक्रमितमध्ये २६ जनाको मृत्यु भएको छ। संक्रमण देखिएका ८० वर्ष माथिका संक्रमितको यो मृत्युदर १२ दशमलव ५ प्रतिशत हो। सबै उमेर समूहको मृत्युको दर शून्य दशमलव ६ को तुलनामा ८० वर्ष माथिको मृत्युदर झन्डै २१ गुणा बढी हो।
कोरोना भाइरसको संक्रमणको संख्याका आधारमा हेर्दा ८० वर्ष माथिकालाई सबैभन्दा कम संक्रमण देखिएको छ। तर संक्रमण देखिएकामध्ये मृत्युको दर भने यही समूहमा सबैभन्दा बढी छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहकालाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
२१ देखि ३० वर्ष उमेरका १६ हजार ८ सय ९० जनामा कोरोना संक्रमण देखिएको छ। यो उमेर समूहकालाई सबैभन्दा बढी संक्रमण देखिए पनि यो समूहको संक्रमितको मृत्यु दर भने सबैभन्दा कम छ। यो उमेर समूहका ०.०९ प्रतिशतको मृत्यु भएको छ।
चिकित्सकका अनुसार उमेर समूह बढी भएका संक्रमितमा अन्य रोग तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका कारण धेरै मृत्यु भएको हो। युवा उमेर समूहका संक्रमितमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने र अन्य दीर्घरोग पनि जेष्ठ नागरिकको तुलनामा निकै कम हुने भएकाले मृत्यु दर कम छ।
उमेर समूहका अनुसार नै मृत्यु दरलाई हेर्दा ८० वर्ष माथिका पछि ७१ देखि ८० वर्षका संक्रमितको मृत्यु दर दोस्रो नम्बरमा पर्छ। ७१ देखि ८० वर्षका कुल संक्रमितमध्ये ६ दशमलव २७ प्रतिशत संक्रमितको मृत्यु भएको छ। यो उमेर समूहका ६८६ जनामा कोरोना संक्रमण देखिएको छ।
मन्त्रालयको तथ्यांक अनुसार ६१ देखि ७० वर्षका १ हजार ५०७ जनामा कोरोना संक्रमण देखिएको छ। यीमध्ये ४७ जनाको मृत्यु भएको छ। यो उमेर समूहमा संक्रमण देखिएका कुल संक्रमितका आधारमा हेर्दा ४ दशमलव ६४ प्रतिशतको मृत्यु भएको छ।
५१ देखि ६० वर्षका ३ हजार ४८८ जनामा संक्रमण देखिएको छ। यो समूहका ५७ जनाको मृत्यु भएको छ। यो उमेरका संक्रमितको आधारमा हेर्दा १ दशमलव ६३ प्रतिशतको मृत्यु भएको छ।
४१ देखि ५० वर्षका ६ हजार ५५८ जनामा संक्रमण देखिएकोमा ५१ जनाको मृत्यु भएको छ। यो उमेर समूहका संक्रमितमध्ये o.७८ प्रतिशतको मृत्यु भएको छ।
३१ देखि ४० वर्षका संक्रमितमध्ये ३६ जनाको मृत्यु भएको छ। यो उमेर समूहका १२ हजार ५७६ जनामा संक्रमण देखिएको छ। यो समूहका संक्रमितको मृत्युदर ०.२९ प्रतिशत छ।
यस्तै १० वर्ष मुनिका १ हजार ७५१ जनामा संक्रमण देखिएकोमा ६ जनाको मृत्यु भएको छ। यो उमेर समूहका कुल संक्रमितमध्ये ०.३४ प्रतिशतको मृत्यु भएको छ।
११ देखि २० वर्षका ५ हजार २४२ संक्रमितमध्ये ७ जनाको मृत्यु भएको छ। यो उमेर समूहका कुल संक्रमितमध्ये ०.१३ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ।