काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आयुर्वेदिक नेपालकाे माैलिक चिकित्सा प्रणाली रहेकाे र निराेगी नेपाल निर्माण अभियानमा यसकाे असाधारण भूमिका हुने बताएका छन्।
काेभिड- १९ काे उपचार र नियन्त्रणमा अपेक्षित भूमिकाका निम्ति आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँग बालुवाटारमा विशेष छलफल र परामर्श गर्दै प्रधानमन्त्री ओलीले आयुर्वेदभित्रै याेग पनि पर्ने बताए।
'आयुर्वेद खासमा औषधि र आराेग्य विज्ञान दुवै हाे,' उनले भने।
मेसिनहरू एलाेपेथिक नभएकाे प्रष्ट पार्नुहुँदै आयुर्वेदमा आधुनिक प्रविधि, अनुसन्धान र औद्याेगिकरणकाे प्रक्रिया मिसाउनुपर्ने आवश्यकतामा जाेड दिएका थिए।
आयुर्वेद क्षेत्रलाई उपेक्षा गर्ने क्रम हटाउन नै सरकारले याेगमाया विश्वविद्यालय स्थापना गरेकाे र यसमार्फत भविष्यमा सिंगाे विश्वकाे ध्यानाकर्षण गरी आयुर्वेद र याेगाकाे विकास गर्ने लक्ष्य राखिएकाे उनको भनाइ छ।
निराेगी नेपाल निर्माणमा आयुर्वेदकाे भूमिका व्यापक बढाउन सरकार दृढ रहेकाे धारणाका साथ प्रधानमन्त्रीले पटकपटक स्मरण गर्दै भने, 'हाम्रा पूर्वजहरूले औषधिमय खानपानकाे प्रबन्ध मिलाएका, ताजा खानेकुरा खाने परम्परा बसाएका र लामाे अनुुभव र प्रयाेगबाट औषधिमय तत्वकाे पहिचान र प्रयाेग गरेका बताए।
काेभिड नियन्त्रणमा आयुर्वेदकाे प्रयाेग बढाउन समेत सबैकाे ध्यानाकर्षण गराएका थिए।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का साथ विज्ञहरूसँग तीन घण्टा सुझाव लिएका प्रधानमन्त्रीले आयुर्वेद उपचारमा हाल गरिरहेका कामहरू र उपयाेगी घरेलु विधिहरूकाे सम्मान गर्न तथा संचारमाध्यमबाट त्यसकाे व्यापक प्रचारप्रसार गर्न पनि जाेड दिए।
उक्त अवसरमा आयुर्वेद विभागका महानिर्दैशक वासुदेव उपाध्याय, डा.ऋषिराम काेइराला, डा. प्रदीप केसी, विनाेद पाैडेल, डा. रामआधार यादव, डा. सन्ताेष ठाकुर, प्रा.डा . डिबी राेका, डा. शिवमंगल प्रसाद, डा. प्रकाश ज्ञवाली र डा.धनिकलाल भर्खरलगायतले आआफ्ना धारणा राखेका थिए। उनीहरूले प्रधानमन्त्रीकाे तहबाट आयुर्वेदिक क्षेत्रलाई महत्व दिएर पहिलाेपटक परामर्श गरिएकाेमा विशेष आभार र धन्यवाद ज्ञापन गरेका थिए।
पार्टीका अर्का अध्यक्ष प्रचण्डले यस कार्यक्रममा प्रधानमन्त्रीले सहभागी गराकाेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए। उनले आयुर्वेद क्षेत्रको विकासमा दुवै अध्यक्षलाई गंभीर ढंगले घच्घच्याउने काम गरेकाे अनुभूति राखे।