काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि नमुना जाँच गर्ने सबै प्रयोगशालालाई नमुना सुरक्षित राख्न निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्रालयले नमुना परिक्षण गर्दा नेगेटिभ रिर्पोट आएका नमुना एक महिना र पोजिटिभ रिर्पोट आएका सबै नमुना तीन महिनासम्म सुरक्षित राख्न निर्देशन दिएको हो।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कतिपय प्रयोगशालाले नमुना सुरक्षित नराख्ने गरेको पाइएकोले पुनः स्मरण गराएको बताए।
उनले भने,‘सुरुदेखि नै सबै प्रयोगशालालाई नमुना सुरक्षित राख्न भनदै आएका छौँ। कतिपय प्रयोगशालाले त्यसो नगरेको पाइयो। धेरै कारणले नमुना केही समय सुरक्षित राख्नुपर्ने हुन्छ। जस्तो अनुसन्धानका लागि, परीक्षणमा कुनै समस्या भएमा पुन परीक्षण गर्नका लागि समेत नमुना सुरक्षित राख्नुपर्ने हुन्छ।’
मन्त्रालयले पिसिआर जाँचको रिर्पोट दिँदा सिटि भ्याल्यू समेत उल्लेख गरेर दिन सबै प्रयोगशालालाई सूचित गरेको छ।