काठमाडौं- सरकारले निषेधाज्ञा हटाए पनि काठमाडौं जिल्लामा भने अझै पनि ५ गतिविधि संचालनमा निषेध लगाइएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारीले एक आदेश जारी गर्दै असोज १ गतेबाट अर्को आदेश जारी नहुन्जेलसम्मका लागि यस्तो निषेधको आदेश जारी गरेका हुन्।
कोभिड-१९ को संक्रमण बढ्दै गईरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी कोभिड-१९ को संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि निषेध गरिएको जारी आदेशमा उल्लेख छ।
यस्तै अत्यावश्यक बाहेकका सेवा दिने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको जानकारी प्रशासनले दिएको छ।
'काठमाडौं भित्र संचालन हुने सार्वजनिक तथा निजी सवारी साधनले सरकारले तोकेका सुरक्षा मापदण्ड पालना गर्दै जोरबिजोर प्रणालीमा संचालन गर्नुपर्नेछ,' प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
असोज १ बाट लागू हुने यो व्यवस्था अर्को सूचना जारी नहुन्जेलसम्मका लागि यस्तो व्यवस्था लागू हुने प्रशासनले स्पष्ट पारेको छ।
तर सरकारले भने असोज १ गतेबाट लामो दूरीका सवारी साधन संचालन गर्न दिने तर सिट क्षमताको आधा मात्र यात्रु राख्ने र ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने व्यवस्था गरिदिएको छ।
निषेधित गतिविधिहरु गरे/गराएको पाइएमा संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही हुने प्रशासनले स्पष्ट पारेको छ।
यी हुन् निषेध गरिएका ५ गतिविधिहरु :
१. काठमाडौं जिल्ला भित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनहरु नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्ने गराउने गरी जोर/विजोर प्रणाली अन्तर्गत सञ्चालन गर्नुपर्नेछ तर अत्यावश्यक सेवा, कार्यालय आवत जावत र सबै प्रकारका ढुवानीका साधनको हकमा जोर/विजोर प्रणाली लागू हुने छैन ।
२. खुल्ला स्थानमा मानिसहरु भेलाजम्मा हुन, भीडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सब, भोजभतेर आदि गर्न/गराउन
३. मठ मन्दिर, मस्जिद, चर्च लगायतका परम्परागत धार्मिक तथा साँस्कृतिक स्थलहरूमा दैनिक नित्यपूजा बाहेक भीडभाड जन्य गतिविधिहरु सञ्चालन गर्न/गराउन,
४. शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्यूशन सेन्टर, तालिम केन्द्र) सञ्चालन गर्न/गराउन साथै शैक्षिक तथा अन्य परिक्षाहरु सञ्चालन गर्न/गराउन,
५. सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, मनोरजन स्थल, स्पा, सैलुन, व्यूटिपार्लर, स्वीमिङ्ग पुल, जिमखाना, हेल्थ क्लब समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, अन्तराष्ट्रिय खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल, प्रदर्शनी, पुस्तकालय, संग्रहालय,
चिडियाखाना जस्ता क्रियाकलाप संचालन गर्न/गराउन।