काठमाडौं- त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले विश्वव्यापी रुपमा हुँदै आएको हल्ट प्राइजको सुरुवात गरेको छ।
हल्ट फाउण्डेशन, हल्ट इन्टरनेशनल विजनेस स्कुल र संयुक्त राष्ट्रसंघले संयुक्त रुपमा विश्वव्यापी प्रतिष्पर्धा अर्थात् हल्ट प्राइज आयोजना गर्दै आएको छ। विश्वविद्यालय जीवनमा नै विद्यार्थीमा सामाजिक उद्यमशिलताको विकास गर्ने उद्देश्यले हल्ट प्राइजको आयोजना गरिएको हो।
उक्त प्रतिष्पर्धाको फाइनल अमेरिकामा हुनेछ। यसका लागि विश्विद्यालयका विद्यार्थी विभिन्न चरणमा छनोट हुनुपर्नेछ।
विश्वका करिब १ सय २० बढी देशका दुई हजार बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिने हल्ट प्राइजमा यस वर्ष नेपालले पनि सहभागिता जनाउँदैछ। हल्ट प्राइजको लागि टिमको गठन प्रक्रिया समेत अघि बढेको आइओएमले जनाएको छ।
नयाँ सोच र शैली निर्माण गर्न, सिर्जनशील बनाउन, आर्थिक रुपमा आत्मनिर्भर बनाउन र सामाजिक विषयवस्तु माथि विद्यार्थीको समूह बीच प्रतिष्पर्धा हुनेछ। उक्त प्रतिष्पर्धामा उत्कृष्ट बिजनेश आइडिया विजेता समूहले दश लाख अमेरिकी डलर प्राप्त गर्ने आइओएमले जनाएको छ।
अन क्याम्पसबाट प्रतिष्पर्धामा सहभागि भई रेजनल, एक्सेलेटर हुँदै ग्लोबल फाइनल्सका लागि युए हेडक्वाटरमा विजनेश आइडिया प्रस्तुत गर्ने उनीहरुलाई मौका मिल्ने आइओएमले जनाएको छ। प्रत्येक वर्ष पानी, शिक्षा, उर्जा, विजुली लगायत समसामयिक विषय माथि प्रतिष्पर्धा हुने क्याम्पसकी निर्देशक विमा शर्माले बताइन्।