काठमाडौं– काठमाडौं उपत्यका कोरोना संक्रमणको ‘हटस्पट’ बनेको छ। काठमाडौ जिल्लामा मात्र संक्रमित ११ हजार नाघेका छन्।
भदौ ३० गतेसम्मकोे तथ्यांक अनुसार काठमाडौं महानगरमामात्र ६ हजार २९ संक्रमित रहेका छन् भने सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ९७ छ। देशभर कोरोना संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ।
दैनिक हटस्पट बन्दै महानगरका वडाहरु
काठमाडौं महानगरमा दैनिक रुपमा हटस्पद थपिँदै गएका छन्। साउन ५ गते लकडाउन खुलेपछि काठमाडौंमा संक्रमित थपिदै गएका थिए। अहिले काठमाडौंका सवै वडामा कोरोना संक्रमित रहेका छन्। महानगरभित्रमात्र ५० संक्रमितले ज्यान गुमाएका छन्। देशभर मृत्यु भएकामध्ये ३ सय ७९ मध्ये १५ प्रतिशत मानिस महानगरका रहेका छन्।
महानगरका २ वडामा ४/४ जनाले ज्यान गुमाएका छन्। उपत्यकाको सवैभन्दा धेरै संक्रमित रहेको स्थान काठमाडौं महानगरको वडा नम्बर १५ रहेको छ। स्वयम्भु क्षेत्रमा ५ सय ६४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ। त्यस्तै वडा नम्वर ३२ कोटेश्वर बढी प्रभावित क्षेत्र मानिएको छ। उक्त क्षेत्रमा ४ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ भने २ जनाले ज्यान गुमाएका छन्। उक्त क्षेत्रपछि वडा न १६ बालाजुमा धेरै संक्रमित रहेका छन्। बालाजुमा ४ सय १५ जनामा संक्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ। काठमाडौं महानगरका ९ वडामा २ सयभन्दा धेरै संक्रमित रहेका छन् ।
२ सयभन्दा धेरै संक्रमित रहेका काठमाडौं महानगरका वडा
वडा न ३ महारागञ्ज–३७३, मृत्यु १
वडा न ७ मित्रपार्क–२०८, मृत्यु ४
वडा न ११ त्रिपुरेश्वर–३२९, मृत्यु १
वडा न १३ कालिमाटी–३०१, मृत्यु ३
वडा न १४ कलंकी–२७०, मृत्यु १
वडा न १५ स्वयम्भु–५६४, मृत्यु १
वडा न १६ बालाजु–४१५, मृत्यु ३
वडा न २७ इनबहाल–२८०, मृत्यु ४
वडा न २८ बागवजार–३२१, मृत्यु १
वडा न ३२ कोटेश्वर–४५२, मृत्यु २
अन्य ४५२
धेरै मृत्यु हुने वडा
महानगरका तीन वटामा ४/४ जनाले ज्यान गुमाएका छन् । बडा नम्बर २७ इनावहाल, बडा नम्वर २१ लगन र बडा नम्वर १७ मित्रपार्कमा ४/४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। भने ६ वटा वडामा ३–३ जनाको मृत्यु भएको छ। वडा न ४ धुम्वाराही, वडा नम्बर ५ हाँडीगाउँ, वडा नम्बर १० बानेश्वर, वडा नम्बर १३ कालिमाटी, बडा नम्वर २५ नःघल र वडा नम्वर १६ बालाजु रहेका छन्।
शून्य मृत्यु हुने वडा ७ वटा
महानगरका ७ वटा वडामा संक्रमित भए पनि कसैले पनि ज्यान गुमाएका छैन। महानगरका यी वडाहरुका विरामी होम आइसोलेन, संस्थागत आइसोलेनदेखि अस्पतालमा उपचाररत छन्। संक्रमणको दर पनि यी वडामा न्यून तहमै रहेको छ। शून्य मृत्यु रहेका वडामा वडा नम्वर २९ डिल्लीबजार , वडा न २३ ओमबहाल, वडा न २४ मखन, वडा न १८ नरदेवी, वडा न १९ कंकेश्वरी , बडा न ८ जयवागेश्वरी र वडा न २ लाजिम्पाट रहेका छन्।
एक जना संक्रमितको मृत्यु भएका वडा १२ वटा
महानगरका ३२ वडामध्ये १२ वटा वडामा एकजना संक्रमितको मात्र मृत्यु भएको छ। त्यस्तै २ जना संक्रमितको मृत्यु हुने वडा ४ वटा छन्। २ जना संक्रमितको मृत्यु भएका वडामा वडा नम्बर ३० ज्ञानेश्वर ,वडा न ३२ कोटेश्वर , वडा न २० भीमसेनस्थान र वडा न १२ टेकु रहेका छन्। जसमा निम्न छन्-
वडा न १ नक्साल–१
वडा न ३ महाराजगञ्ज –१
वडा न ६ बौद्ध– १
वडा न ९ गौशाला– १
वडा न ११ त्रिपुरेश्वर–१
वडा न १४ कलंकी– १
वडा न १५ स्वायम्भु– १
वडा न १७ खुशिवु– १
वडा न २२ संकटा–१
वडा न २६ लैनचौर– १
वडा न २८बागवजार– १
वडा न ३१ शान्तिनगर– १
सुस्त कन्ट्याक्ट ट्रेसिङ
महानगरको सहरी स्वास्थ्य महाशाखाको तथ्यांक अनुसार करिब १० हजारको मात्र कन्ट्याक्ट ट्रेसिङ भएको छ। ५ हजारभन्दा बढी संक्रमित रहेको महानगरमा दोब्बरमात्र मानिसको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ।
एक जना संक्रमितको सम्पर्कमा १० देखि १५ जना रहन सक्छन्। परिवारका सदस्यको मात्र कन्ट्याक्ट ट्रेसिङ गरे पनि १० जनाको हुनुपर्ने देखिन्छ। तर महानगरको तथ्यांक हेर्दा एक परिवारका एक सदस्यको मात्र कन्ट्याक्ट ट्रेसिङ भएको देखिन्छ। यसरी गरिएको कन्ट्याक्ट ट्रेसिङले कसरी संक्रमित पत्ता लाग्छन् भन्ने प्रश्न उव्जेको छ।
कतिपय वडामा कुल संक्रमितको संख्याभन्दा केही बढीमात्र मानिसको कन्ट्याक्ट ट्रेसिङ गरिएको तथ्यांक महानगरसँग रहेको छ।