काठमाडौं- संक्रमितहरुको संख्या दिनप्रति दिन बढ्दै गएसँगै नेताहरू पनि संक्रमित भएका छन्। हालसम्म कोरोना संक्रमितको संख्या साढे ६१ हजार कटेको छ। यी मध्ये धेरै राजनीतिक दलका कार्यकर्ता र नेता पनि छन्। हालसम्म संक्रमित नेताहरूबारे हामीले विवरण संकलन गरेका छौं।
शसांक कोइराला
अघिल्लो साता नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालामा कोभिड–१९ संक्रमण देखिएको छ। शुरुमा होम आइसोलेनमा बसेका महामन्त्री डा. कोइराला कोरोना संक्रमित भएको एक हप्तापछि ज्वरो आएपछि ओम अस्पतालमा भर्ना भएका थिए। हाल कोइरालालाई ओम अस्पतालमा उपचार भइरहेको छ। कोइरालाको स्वास्थ्य अवस्था अहिले सुधारउन्मुख रहेको छ। एनले भिडियो मार्फत सन्देश दिदै आफै छिटै डिस्चार्ज हुने बताएका छन्।
विनोद चौधरी
कांग्रेका तर्फबाट प्रतिनिधिसभा सांसद तथा फोर्ब्सको सूचीमा सूचीकृत एकमा नेपाली विनोद चौधरी पनि भदौ १२ गते कोरोना संक्रमति भएका थिए। उनले सामाजिक सञ्जाल ट्विटरमा आफू संक्रमित भएको जानकारी दिएका थिए। यसरी संक्रमित हुने उनी चौथो तेस्रा सांसद् थिए। यसअघि दुई सांसद कोरोना संक्रमित भएका थिए। उनी उपचार पछि निको भएर काममा फर्केका छन्।
प्रदीप यादव
संक्रमित भिआइपीहरूमा सबैभन्दा पहिला प्रतिनिधिसभाका सांसद प्रदीप यादव कोरोना पोजेटिभ पुष्टि भएका थिए। पर्सा १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद यादव साउन १७ गते संक्रमित भएको पुष्टि भयो। वीरगञ्जमा कार्यकर्तासँगको भेटघाटका क्रममा उनी संक्रमित भएको अनुमान गरिएको छ। १२ दिनको आइसोलेसन बसाइपछि उनी कोरोना संक्रमणमुक्त भएका थिए।
डा सूर्यनारायण यादव
सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद डा सूर्यनारायाण यादव साउन ३० गते कोरोना संक्रमित भएका थिए। चिकित्सकसमेत रहेका सांसद यादव झाडापखाला लागेर गम्भीर अवस्थामा आएका एक बालिकाको उपचारका क्रममा संक्रमित भएको आशंका गरिएको छ। नियमित बिरामी जाँच्न छोडेपनि गम्भीर बिरामी आउँदा उनले हेर्ने गरेकाले बालिका गम्भीर रुपमा मेडिकलमा आएपछि उनले हेरेका थिए। हाल उनी आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन्।
यज्ञबहादुर बोगटी
अछाम-२ बाट निर्वाचित सांसद यज्ञबहादुर बोगटीलाई भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। निर्वाचन क्षेत्र गएर आएको र नेकपा महासचिव विष्णु पौडेलको सचिवालयमा कोरोना देखिएपछि उनले स्वाब दिएका थिए।
शुरुमा प्रयोगशालाले नेगेटिभ रिर्पोट दिएपनि पछि पोजेटिभ आएको खबर पाएका थिए। साउन ३० गते उनको पिसिआर रिर्पोट नेगेटिभ आएको जानकारी पाएका थिए। तर पछि काठमाडौं महानगरले उनको पोजेटिभ रिपोर्ट आएको खबर गरेपछि उनी आइसोलेनमा बसेका थिए।
प्रेम सुवाल
प्रतिनिधिसभाका सांसद तथा मजदुर किसान पार्टीका नेता प्रेम सुवाललाई भदौ २० गते कोरोना संक्रमण पुष्टि भएको हो। केही दिनअघि सम्पर्कमा आएको एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उनले स्वाब दिएका थिए।
स्वाब संकलनलगत्तै सांसद सुवाल होम आइसोलेसनमा बसेका थिए। उनमा कुनै लक्षण थिएन। उनी होम आइसोलेनमा बसेका थिए। भक्तपुर नगरपालिकाद्वारा संचालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंहमा सांसद सुवाल लगायतको पिसिआरका लागि स्वाब दिएका थिए। उनी अहिले कोरोना संक्रमण मुक्त भइसहेका छन्।
कञ्चन वादे
पूर्व उद्योग राज्यमन्त्री कञ्चन वादे पनि कोरोना संक्रमित भएका छन्। उनमा कोरोनाको लक्षणसमेत देखिएपछि अस्पताल भर्ना गरिएको छ। १० दिनअघि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। काभ्रेपलाञ्चोकमै रहँदा उनी संक्रमित भएको आशंका गरिएको छ। उनलाई सास फेर्न समस्या भएपछि काठमाडौंको ह्याम्स अस्पतालमा आइसियूमा राखिएको थियो। हाल वादेको स्वास्थ्य सुधारोन्मुख छ।
राधिका तामाङ
बागमती प्रदेशकी उपसभामुख राधिका तमाङलाई भदौ १ गते कोरोना संक्रमण भएको पुष्टि भयो। उनीसँगै उनका ९ वर्षीय छोरामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो। उनी निर्वाचन क्षेत्र गएका बेला संक्रमण भएको अनुमान गरिएको छ।
उनी बागमती प्रदेशको उपसभामुख निवासमा आइसोलेनमा बसेकी थिइन्। उनी कोरोनामुक्त भएर अहिले नियमित काममा फर्केकी छन्।
जीवन घिमिरे
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भदौ १६ गते भयो। कोशी अस्पतालको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा मन्त्री घिमिरेको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। मन्त्री घिमिरेको स्वास्थ्य अवस्था सामान्य नै रहेको थियो।
कुनै लक्षण नभएपछि संक्रमण पुष्टि भएपछि उनी घरमै होम आइसोलेसन बसेका थिए। १४ दिन होम आइसोलेनमा बसेर उनी काममा फर्केका छन्।
जीवनबहादुर शाही
कर्णाली प्रदेशका सांसद जीवनबहादुर शाही पनि कोरोना संक्रमित भए। असार ३० गते उनको रिर्पोट कोरोना पोजेटिभ आएको थियो। संक्रमित प्रदेश सांसद शाही कर्णाली प्रदेशको नेपाली कांग्रेसका दलका नेता हुन्। उनी साउन ७ गते कोरोना संक्रमणमुक्त भएका छन्।
ज्ञानेन्द्र यादव
कोरोना संक्रमणको जोखिम धेरै रहेको प्रदेशमा आन्तरिम मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव साउन २३ गते कोरोना संक्रमित भएका थिए। तराईका जिल्लाहरुको भ्रमणका क्रममा उनी संक्रमित भएको हुन सक्ने अनुमान गरिएको छ।
उनी मन्त्रीनिवासमा आइसोलेनमा बसेका थिए। मन्त्री यादव भदौ ५ गते संक्रमणमुक्त भए।
रिना यादव
प्रदेश सांसद रिना यादव पनि साउन २३ गते नै संक्रमित भएको पुष्टि भयो। मन्त्री यादवसँगै गरिएको परीक्षणमा सांसद यादवमा पनि संक्रमण भएको देखिएको थियो।
निर्वाचन क्षेत्र जाने क्रममा उनी संक्रमित भएको आशंका गरिएको छ। उनी भदौ ३ गते कोरोना संक्रमणमुक्त भएकी छन्। समाजवादी दलबाट उनी निर्वाचित भएकी थिइन्।
विद्यासुन्दर शाक्य
काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भदौ १५ गते पुष्टि भएको थियो। संक्रमित भएपछि उनी सोल्टी होटलमा आइसोलेनमा बसेका थिए। उनको रिर्पोट नेगेटिभ आइसकेको छ। उनी काठमाडौ महानगरमा काममा फर्केका छैनन्।
श्रीमतीसहित अरु परिवारको सदस्यको भने नतिजा नेगेटिभ आएको थियो।
विजय सरावगी
वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी पनि काममै क्रममा संक्रमित भएको अनुमान गरिएको छ। साउन १५ गते उनी कोरोना संक्रमित भएका थिए।
संक्रमित भएपछि उनी काठमाडौंमा आई आइसोलेसन बसे। उनीसँगै उनका बुबा र ज्वाईं पनि संक्रमित भएका थिए। भदौ ८ गते संक्रमणमुक्त भएर उनी अहिले महानगरको काममा फर्केका छन्।
अख्तियारका तत्कालीन प्रमुख नवीनकुमार घिमिरे
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई पनि कोरोना संक्रमित भएका थिए। घिमिरेलाई साउन २७ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो। उनी अख्तियारको क्वार्टरमा आइसोलेन बसे। अहिले उनको रिपोर्ट नेगेटिभ आइसकेको छ। अख्तियारका कर्मचारीमा संक्रमण भएपछि उनको परीक्षण गरिएको थियो। परीक्षणमा उनमा पनि संक्रमण पुष्टि भएको थियो।