काठमाडौं - जुम्लामा ६ दिनदेखि अनसनरत डा गोविन्द केसीको समर्थनमा काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गरेका छन्।
डा केसीले उठाएका माग पुरा गर्न दबाब स्वरुप डा केसी अलाईन्सका पाँच जना अभियन्ताहरुले प्रदर्शन गरेका हुन्। डा केसीले उठाएका मागहरु पुरा नगरे आन्दोलन थप सशक्त बनाइने उनीहरुले बताएका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबीबीएस लगायतका कार्यक्रमहरु सञ्चालन गर्न, गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पु¥याएर पठनपाठन सुरु गनुपर्ने, प्रदेश नं दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन डा केसीले माग गरेका छन्।
मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पिसिआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त गर्न, कोभिड तथा अन्य रोगका सबै बिरामीलाई समेत उचित उपचारको व्यवस्था गर्नुपर्ने लगायत ६ बुँदे माग राखि डा केसी अनसनमा छन्। डा केसीले भदौं २९ गतेबाट अनसन सुरु गरेका छन्।
