काठमाडौं- चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै ७ दिनयता अनसनरत डा गोविन्द केसीले आफ्नो माग पूरा गर्नुको सट्टा आफूलाई अपहरणको शैलीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। ७ दिन पहिले जुम्लामा अनसन सुरु गरेका डा केसीको स्वास्थ्य अवस्था कमोजोर बन्दै गएपछि यस्तो प्रतिक्रिया दिएका हुन्।
शनिबार बिहान भएको स्वास्थ्य परीक्षणमा डा केसीको अवस्था कमजोर भएको र २४ घण्टा मनिटरिङमा राख्नुपर्ने अवस्था रहेको भन्दै चिकित्सकहरूले सुझाव दिएका थिए। तर डा केसीले आफू अनसन बसेको स्थान छोड्न मानेका थिएनन्। शनिबार साँझ उनलाई बल प्रयोग गरी प्रतिष्ठानमा लगिएको हो।
बल प्रयोग गरी प्रतिष्ठान लगिएपछि डा केसीले भनेका छन्, 'माग पूरा गर्नुको साटो जबर्जस्ती अपहरण गर्ने मलाई? म कुनै पनि उपचार इन्भेस्टिगेशन लिनेवाला छैन।'
यसैबीच डा केसीका माग पूरा गर्न र उनको जीवन रक्षाको माग गर्दै जुम्लामा स्थानीयले साँझमा दीप प्रज्वलन गरेका थिए।
डा केसीका मागहरू
१. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु संचालन गरियोस्। गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन शुरू गरियोस्। प्रदेश नं दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस्।
२. मास्कको प्रयोग र सामाजिक दुरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त गरियोस्। कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गरियोस्।
३. हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस्।
४. त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरियोस्। विश्वबिद्यालय, काउंसिल र प्रतिस्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शि ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस्।
५. बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निशुल्क सेवा सुनिस्चित गरियोस्।
६. राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरीद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरीद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समुहको औषधि खरीद काण्ड लगायत सबै ठूला भ्रष्टाचार काण्डका दोषीहरुलाई कानुन बमोजिम छानविन र कारवाही गरियोस्। बालुवाटार जग्गा काण्डमा आपराधिक लाभ लिने सत्तारुढ दलका नेतामाथि छानविन र कारवाही चलाइयोस्। यी सबै प्रकरणका दोषीहरुलाई कारवाही नगरेर सत्ताको इशारामा उन्मुक्ति दिएमा अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरुमाथि पनि कानुन बमोजिम छानविन र महाभियोगलगायतका कारवाही गरियोस्। अख्तियारका आयुक्त लगायत सबै दोषी व्यक्तिहरुमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइयोस्।