काठमाडौं- भेरी अस्पताल बाँकेमा थप एक जना संक्रमितको मृत्यु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका- २१, पुरैनीका ५९ वर्षीय पुरुषको शनिबार राति ११ः३० बजे मृत्यु भएको अस्पतालका मेसु डा प्रकाश थापाले जानकारी दिए।
उनी भदौ २० गते अस्पताल भर्ना भएका थिए भने २१ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो।
अस्पतालका अनुसार उनलाई प्लाज्मा थेरापीबाट उपचार गरिनुका साथै भदौ २५ गतेबाट रेम्डेसिभिर औषधि समेत चलाइएको थियो।
स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनको शनिबारदेखि भेन्टिलेटरमा उपचार गरिएको थियो। उनी दीर्घ निमोनियाका बिरामी थिए।