काठमाडौं- प्राडा गोविन्द केसीको १९औं अनसनप्रति जिल्ला अस्पताल ओखलढुंगाका स्वास्थ्यकर्मीहरुल ऐक्यवद्धता जनाएका छन्।
उनीहरुले डा केसीको समर्थनमा प्रदर्शन गर्दै प्राडा केसीको जीवनरक्षा गर्दै राजनीतिक हस्तक्षेप बन्द गर्न र सर्वसुलभ स्वास्थ्य सेवाको सुनिश्चितता गर्न माग पनि राखेका छन्।
९ दिनदेखि अनसनरत प्राडा केसीले माग पूरा नभएसम्म अनसन नटुंगिने अडान कायम नै राखेका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबिबिएस लगायतका कार्यक्रमहरु सञ्चालन गर्न, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन सुर गर्नुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने प्राडा केसीको माग छ।
मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पिसिआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्न, कोभिड तथा अन्य रोगका सबै बिरामीलाई समेत उचित उपचारको व्यवस्था गर्नुपर्ने लगायत ६ बुँदे माग राखी प्राडा केसी अनसनमा छन्। प्राडा केसीले भदौ २९ गतेबाट अनसन सुरु गरेका हुन्।