काठमाडौं- सरकारी चिकित्सक संघ (गोदान) ले स्नातकोत्तर तहको प्रवेश परीक्षाको पुनः सूचना जारी गर्न चिकित्सा शिक्षा आयोगसमक्ष माग गरेको छ।
संघले प्रेस विज्ञप्ति जारी गर्दै आयोगले भदौ ३१ गते जारी गरेको सूचनामा गम्भीर कमजोरी रहेको र आयोगको नियमावलीप्रति पनि असहमति रहेको समेत जनाएको छ।
एउटै स्तरको एउटै प्रवेश परीक्षा र एउटै कोटा भित्रको लागि फरकफरक सेवा सर्त हुनु, स्थायी चिकित्सकको सेवा प्रवेशका समयमा देखाइएको सरकारी शिक्षण संस्थामा स्नातकोत्तर अध्ययनको प्राथमिकता हटाइनु जस्ता विभेदकारी नियमले स्थायी चिकित्सकलाई हतोत्साही बनाएको गोदानको ठम्याइ छ।
‘चिकित्सा शिक्षा आयोग, स्वास्थ्य मन्त्रालय र गोदानबीच भएको बैठकमा सरकारीतर्फ ४० प्रतिशत स्थानको लागि स्वास्थ्य मन्त्रालयले कार्यविधि निर्माण गरेपश्चात् परीक्षाको सूचना जारी गर्ने निर्क्योल भएको थियो तर सबै छलफललाई लत्याउँदै, प्रत्यक्ष रुपले सम्बन्धित मन्त्रालय समेतलाई गुमनाम राखी एकतर्फी रुपमा नियमावलीको अपव्याख्याहरु सहितको सूचना जारी भयो,’ गोदानद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
गोदानले तत्काल सूचना सच्याएर स्थायी चिकित्सकको प्राथमिकता सहितको नयाँ सूचना जारी गर्न माग गर्दै गोदानले माग सम्बोधन नभए कडा विरोधका कार्यक्रम सहित आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ।