डा अनिल कार्की
कोरोना संक्रमित र जोखिम दैनिक बढ्दो छ। सरकारले परीक्षणको दायरालाई विस्तार गर्दै लैजानुपर्ने आवश्यकता छ। तर ठिक उल्टो सरकारले परीक्षणको दायरा खुम्चाउँदै लगेको छ।
लक्षण नभएका कोरोना संक्रमितको पिसिआर नगरेको सरकारले अब लक्षण नभएका स्वास्थ्यकर्मीको पनि नगर्ने भएको छ। सरकारको यस्तो निर्णयले के कोरोना नियन्त्रण गर्न सकिन्छ र?
अहिले लकडाउन पनि खोलिएको छ। खोल्न आवश्यक पनि हो। सधैं लकडाउन गरेर पनि सम्भव हुँदैन। तर लकडाउन खोलिनुको अर्थ कोरोनामुक्त भएको भन्ने होइन। लकडाउन खुलेपछि जुन सुरक्षा र सतर्कता सरकारले अपनाउनुपर्ने थियो, त्यो नभएको हो की?
सरकारले परीक्षणको दायरालाई बढाउनुको साटो घटाउँदै लगेको छ। यसले गर्दा कोरोना झन् भयावह स्थितिमा पुग्ने देखिन्छ। मलाई लाग्छ, दसैंसम्म कोरोना झन् बढ्दै जानेछ।
सरकारले स्वास्थ्यकर्मीको पनि पिसिआर परीक्षण गर्नुपर्छ। कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउँदै लैजानुपर्छ। लकडाउन पनि खोल्ने, परीक्षण पनि घटाउँदै लैजाने, कन्ट्याक्ट ट्रेसिङ राम्रोसँग नहुने र सुरक्षाका उपायहरु पनि नअपनाउने हो भने कोरोना नियन्त्रण गर्न मुश्किल पर्छ।
यसले समुदायस्तरमा पनि कोरोना झन् फैलँदै जाने जोखिम बढ्छ। अरु रोगमा जस्तो छाती छामेर, पेट हेरेर कोरोना पत्ता लाग्दैन। कोरोना पत्ता लगाउन पिसिआर परीक्षण गर्न गर्नुपर्छ।
संसारका विज्ञहरुले पनि कोरोनाका विषयमा समान धारणा बनाउन सकेका छैनन्। त्यसैले सावधानी अपनाउनु नै यसको मुख्य उपाय हो।
अहिले स्वास्थ्यकर्मीहरु दिनरात कोरोना संक्रमितको उपचारमा खटिइरहेका छन्। स्वास्थ्यकर्मीहरु कोरोनाको जोखिममा छन्। तर सरकारले यिनै स्वास्थ्यकर्मीको परीक्षण नगर्ने भनेको छ। यो त बिना हतियार युद्ध मैदान जाऊ भने जस्तै हो। त्यसैले स्वास्थ्यकर्मीको परीक्षणको दायरा बढाउनुपर्छ।
परीक्षणको मूल्य सस्तो बनाएजस्तै यसको विश्वसनीयता पनि बढाउनुपर्छ। लकडाउन खोलिए पनि सुरक्षाका मापदण्ड कडा रुपले पालना गर्नुपर्छ।
कोरोनाको जोखिम दैनिक बढिरहेका बेला सरकारले परीक्षणको दायरा खुम्चाउने होइन, बढाउनुपर्छ। केही व्यक्तिहरुले कोरोना केही होइन भन्दै भ्रम फैलाउँदै हिँडिरहेका छन्। यो अवस्थामा सरकारको यस्ता निर्णयले यसलाई बढावा दिने देखिन्छ।
कोरोनाको महामारी नियन्त्रण गर्ने हो भने स्वास्थ्यकर्मीको मनोबल बढाउन आवश्यक पर्छ। स्वास्थ्यकर्मीको मनोबल बढाउने खालका काम सरकारले गर्न आवश्यक छ।
(नेपाल चिकित्सक संघका उपाध्यक्ष डा कार्कीसँग स्वास्थ्यखबरकी कमला गुरुङले गरेको कुराकानीमा आधारित।)