काठमाडौं - बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले निशुल्क पिसिआर परीक्षण बन्द गरेको छ। संघीय तथा प्रदेश सरकारले पिसिआर परीक्षणमा आवश्यक किट उपलब्ध नगराएको भन्दै प्रतिष्ठानले निशुल्क पिसिआर परीक्षण बन्द गरेको हो।
कोरोना परीक्षण गराउन चाहने कर्मचारी तथा अन्य व्यक्तिले अबदेखि दुई हजार शुल्क तिर्नुपर्ने प्रतिष्ठान प्रवक्ता डा निदेश सापकोटाले बताए।
उनले भने, ‘पिसिआर परीक्षण बन्द भएको छैन। निशुल्क मात्र नहुने हो। अबदेखि अत्यावश्यक बाहेक अन्य कर्मचारी तथा बिरामीले पिसिआर गर्दा शुल्क तिर्नुपर्छ।’
कोभिड अस्पताल, आइसोलेन र प्रतिष्ठानकै अन्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई अति आवश्यक भएमात्र निशुल्क पिसिआर परीक्षण गरिने उनले बताए। यस बाहेक अन्य कर्मचारी तथा बाह्य व्यक्तिले पिसिआर गर्न चाहे न्यूनतम दुई हजार शुल्क तिनुपर्ने प्रतिष्ठानले जनाएको छ।
संघीय तथा स्थानीय सरकारबाट पिसिआर गर्न आवश्यक किट उपलब्ध नभएसम्म स्थानीय सरकार, संघ, संस्थाबाट समूहगत रुपमा आउने स्वाबको समेत दुई हजार शुल्क लिएर मात्र परीक्षण गरिने प्रतिष्ठानले जनाएको छ।