काठमाडौं- त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा गोविन्द केसीले आफ्ना माग पूरा नगरेसम्म अनसन जारी राख्ने बताएका छन्। १९औं अनसनको १२ दिनमा उनले आफ्ना माग पूरा नगरेसम्म अनसन जारी रहने दृढता व्यक्त गरेका हुन्।
केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्ना मागप्रति कुनै चासो नदेखाएको बताउँदै उनले आफ्ना माग पूरा गर्न धेरै गाह्रो नभएको तर सरकारले कुनै तदारुकता नदेखाएको भन्दै उनले गुनासो गरेका छन्।
'यो साधारण माग हो। कतिपय मागमा सम्झौता भइसकेको छ। कतिपय चिकित्सा शिक्षा ऐनमा पनि समावेश भइसकेको छ,' उनले भने, 'तर सरकार माफियामुखी भएको छ। दलाल र भ्रष्टलाई संरक्षण गरिरहेको छ। यो तीन करोड नेपालीलाई धोका हो।'
आफ्ना मागका विषयमा थप खुलाउँदै उनले ओली सरकारले आफ्ना मागलाई बेवास्ता गरेर समग्र जनताको आवाजलाई नै बेवास्ता गरेको समेत उनले बताएका छन्।
'म फेरि ओलीजीलाई भन्छु। यो तपाईंले गर्नुपर्ने काम थियो। यी साधारण माग हुन्। यी माग पूरा गरिदिनुस्। नगरेसम्म हाम्रो सत्याग्रह जारी रहन्छ,' आफ्ना कुरा टुंग्याउँदै डा केसीले भनेका छन्।
डा केसीले जुम्लामा अनसन सुरु गरी मंगलबार काठमाडौं आएका थिए। राष्ट्रिय ट्रमा सेन्टरमा लैजान लछारपछारमा उत्रिएको सरकारले हालसम्म पनि डा केसीका मागबारे कुनै चासो नदेखाएको भन्दै ओली सरकारको आलोचना हुँदै आएको छ।
भिडियो :